भूकम्पपछिको क्षति विवरण यकिन गर्दै प्रहरी

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले भूकम्पबाट हुनसक्ने क्षति विवरणबारे यकिन गर्न देशभरका प्रहरी निकायलाई अलर्ट गरेको छ।

मंगलबार बिहान ६:५० बजे तिब्बत र नेपालको सीमा केन्द्रविन्दु बनाएर ७ म्याग्नेच्युडको भूकम्प गएको छ।

भूकम्पपछि क्षति विवरण यकिन गर्नका लागि प्रहरी निकायहरूलाई पत्राचार गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिए।
अहिलेसम्म क्षति विवरण भने आइसकेको छैन।

सोलुखुम्बु, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा सहितका कोशी पहाडका जिल्लामा अहिलेसम्म क्षतिको जानकारी नआएको स्थानीय प्रशासनले जनाएको छ।

यी जिल्लाका प्रहरी र जिल्ला प्रशासन नेतृत्वले दिएको जानकारी अनुसार तिब्बत क्षेत्रमा केन्द्रविन्दु भएकाले क्षति भएको हुनसक्छ।

ुभूकम्पपछि देशभरिका प्रहरीलाई अलर्ट गरेर आफ्नो क्षेत्र हेर्न लगाइएको छ। अहिलेसम्म क्षति विवरण आएको छैन, उनले भने। भूकम्पको केन्द्र डिंगे कान्टी नेपालको पूर्वी पहाड नजिकै पर्छ।

त्यसैले भूकम्पको प्रभाव पनि पूर्वी नेपालमा बढी परेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।

‘यो भूकम्पको गहिराइ करिब १० किलोमिटर देखिएको छ। यद्यपि यसबारे विस्तृतमा हामी पनि बुझ्दैछौं। यसको असर काठमाडौं र यसभन्दा पश्चिम पनि परेको छ,उनले भने।

बिहान ६:५० मा काठमाडौंलगायत मधेस र पूर्वी पहाडमा भूकम्पको धक्का महसुस गरेपछि मानिसहरू घर बाहिरसमेत निस्किएका थिए। कम्पन केही बेर महसुस गरिएको थियो।

पूर्वी पहाडमा क्षति भएको आशंकामा प्रशासनले विवरण माग गरेको बताएका छन्।