वायुसेवा निगम थप कमजोर हुँदै गयो: पर्यटनमन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गएको स्विकारेका छन्।

मंगलवार प्रतिनिधिसभा अन्तर्गतको अन्ताराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो स्विकारेका हुन्। उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम भए पनि राम्रो क्षमता देखाउन नसकेको भन्दै असन्तुष्टि जनाए। उनले निगमसँग भएका जहाज समेत चलाउन नसक्नु अक्षमता भएको संकेत गरे।

मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहकले हवाई उडानलाई विस्तार र टिकट सर्वसुलभ (सस्तो) बनाउनुपर्ने भूमिकामा समेत हस्तक्षेप गर्न नसकेको बताए।

उनले हवाई भाडा नियन्त्रण र नियमन समेत नेपाल वायुसेवा निगमले गर्न नसकेको बताए। उनले सरकारले पटक–पटक नेपाल एयरलाइन्ससँग निगमलाई बलियो बनाउने विषयमा छलफल गरेको बताए।

उनले निगममा रहेका जहाज खरिद गर्दादेखि विभिन्न विवाद र वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटी र टिकट विक्री वितरणमा समेत पारदर्शिता देखाउनुपर्ने विषयको खोजीमा लागेको बताए।

मन्त्री पाण्डेले भने‚नेपालको हवाई उडानलाई विस्तार र टिकट सर्वसुलभ (सस्तो) गर्ने हो भने राष्ट्रिय ध्वजावाहक बलियो र सुदृढ हुनुपर्छ। जहाज खरिद गर्दादेखि विभिन्न विवाद र वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटी र टिकट विक्री वितरणमा समेत पारदर्शिता देखाउनुपर्ने विषयको खोजीमा लागेका छौं।

वाइडबडी सी चेकमा पठाउन नसकिएकाले नचल्ने र न्यारोबडी पनि सी चेक नहुने अवस्था छ। यसले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुन थाल्यो।

उनले पछिल्लोपटक मन्त्रालयले वायुसेवा निगमलाई सुधारको कार्ययोजना प्रस्तुत गर्न एक महिनाको समय दिएको बताए। उनले सुधारको योजना हेरेर निगमको नेतृत्वले सुधार प्रस्तुत गर्न समेत भनिएको उल्लेख गरे।