सहकारीको बिल्लीबाठ, बैंक र बचतकर्ताले कहिले सिक्ने पाठ ?

नेपालीमा एउटा चर्चित उखान छ,‘आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु ।’ यतिबेला यो उखान बैंक तथा वित्तिय संस्था पीडितसँग मेल खान पुगेको छ । ब्याजको लोभमा पर्दा आज लाखौं पीडित बनेका छन्। मुलुकमा भूमिको अधिकार पुरै जग्गाधनीलाई दिइएको छ । घरजग्गा पुरै घरधनीको स्वामित्वमा हुन्छ । मालपोत कार्यालयको ढड्डामा उनीहरुकै तस्बिर टाँसिएको हुन्छ । त्यो सम्पत्ति उनीहरुबाट कसैले खोस्न सक्दैन् ।

तर, भनिन्छ नि,‘लोभले लाप, लापले विलाप’, त्यस्तै अवस्था बनिदियो । आफ्नो नाममा भएको घरजग्गा बेचेर सहकारी, फाइनेन्स र लघुवित्तमा राखे । आज न जायजेथो आफ्नो नाममा छ, न त हातमा पैसा। ब्याजको लागि उनीहरुले आफ्नो जायजेथो बेचेर वित्तिय संस्थामा लगेर पैसा राखे । वित्तिय संस्थाहरु धमाधम भागेपछि र बन्द भएपछि उनीहरुको बिचल्ली भएको छ।

एउटा भौचरको आडमा बचतकर्ताले आफ्नो करोडौं रकम राखेका थिए । त्यो पैसा सुरक्षित छ कि छैन् ? उनीहरुले कहिल्यै सोधिखोजी गरेनन् । ब्याज आउञ्जेल बसिबसि खाइरहें। अब अहिले सहकारी डुबेपछि उनीहरुलाई ‘रुनु न हाँस्नु’ भएको छ । नेपालीहरु साह्रो अल्छी छन् । ब्याजले नै खान पुग्ने भएपछि एकपछि अर्को गर्दै सम्पत्ति बेचेर वित्तिय संस्थामा लगेर राखे ।

अन्तिममा घरजग्गा नै रहेन्। बुढापाखाले सजिलो कमाउने माध्यम नखोज्नु भनेर दिने गरेको अर्ति यतिबेला पीडितहरुलाई झल्झली याद आएको छ । तर, के गर्ने पैसा डुबिसक्यो।

कतिपयले घरजग्गा बेचेको पैसा राखे त कतिपयले व्यापार व्यवसाय गरेको । विदेशबाट कमाएर ल्याएको पैसा पनि ब्याजको लोभमा सहकारीमै जम्मा गरियो । जागिरबाट आउने तलब पनि सहकारीमै राखिन्थ्यो ।

एउटै बचतकर्ताको लाखदेखि करोडौंसम्म डुबेको छ । त्यो बचत फर्किने सम्भावना निकै न्यून छ । बचतकर्ताहरुलाई आफ्नो बचत माग्दै विभिन्न निकाय धाउँदाकै सास्ती छ । करोडौं रुपैयाँको प्रमाण एउटा भौचर छ । त्यो भौचर लिएर कहिले सहकारी विभाग त कहिले केन्द्रीय अनुसन्धान ब्यूरो । कहिलेचाँहि सडकमा । यो क्रम अझै कहिलेसम्म चल्ने हो ? भन्न सकिन्न ।

यता, मुद्दामामिलामा जानुपर्यो भने आफ्नै पैसा खर्च हुन्छ । घटना घटेपछि आँखा खुलेर के गर्ने ? सरकारको प्रवृत्ति कस्तो छ ? भन्ने सर्वसाधारणले राम्ररी बुझेका थिए। तैपनि आँखा चिम्लेर मोटो रकम सहकारी, फाइनेन्स र लघुवित्तमा बचत गरे।

सरकारले त उनीहरुलाई ठगेर खाऊँ भनेरै इजाजत दिएको हो । नत्र कहिलेँकाँही त अनुगमन गर्थ्र्यो होला नि । सरकार कहिलेपनि जनताप्रति जिम्मेवारी भएन् र हुने पनि देखिँदैन् ।

सहकारीले करोडौं बचतकर्ताको खर्बौं रुपैयाँ खाइदिएको छ । सहकारीबाट शुरु भएको संकट समग्र वित्तिय क्षेत्रमा देखिन थालेको छ । लघुवित्त र फाइनेन्स सहकारीको अवस्थामा पुगिसकेको छ भने बैंक पुग्ने बाटोमा छ।

भविष्यमा बैंकमा पनि संकट नआउँला भन्न सकिन्न । यतिबेला बैंकको पनि चर्को विरोध भइरहेको छ। सर्वसाधारणलाई सडकछाप बनाउनु त बैंक तथा वित्तिय संस्थाको एजेण्डा नै रहेछ ।

दुर्भाग्यबस्, ढिला बुझियो । बैंक तथा वित्तिय संस्थाले ऋणी र बचतकर्ता दुवैलाई सडकछाप बनायो । गाउँदेखि शहरसम्म बैंक तथा वित्तिय संस्था ‘चोर’ भन्ने नारा लाग्न थालिसकेको छ । पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा तोडफोड भइरहेको घटनाहरु पनि सुन्नमा आइरहेको छ । अब पनि सरकार टुलुटुलु रमिता हेरेर बस्ने हो भने ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ ।

बैंकमा केही दिनदेखि बचतकर्ताको भीड छ । पैसा निकाल्न जानेहरुको लाम लागेको छ । बैंक पनि डुब्छ भन्ने छाप जनतामा परिसकेको छ । तर, सरकारले अझैपनि त्यसलाई हलुकामा लिएको छ। यसले ठूलो जोखिम निम्त्याउन सक्छ । बुढापाखाले भन्थे,‘क्यासको हरेक दाउ ।’ पासबुक लाखौं रुपैयाँ छ तर हातमा पाँच रुपैयाँ पनि छैन्। त्यस्तो पैसा के गर्ने ?

सहकारीमा करोडौं बचत भएकाहरु उपचार गर्न नसकेर ज्यान गुमाइरहेका छन् । कोठाभाडा तिर्न सकेका छैन् । स्कुलमा बच्चाको फिस बाँकी छ । खान धौंधौं परेको अवस्था छ।

सहकारीको बचतकर्ताको नियति बैंकका बचतकर्ताको नबनोस्। त्यसैले बैंकका बचतकर्ता बेलैमा टाठोबाठो बन्न आवश्यक छ । केही हुँदैन् भनेर कुरिरह्यो भने आफ्नो जिन्दगी भरको कमाइ स्वाहा हुन्छ।

बैंकमा भएको पैसा निकालेर बेलैमा कहीँ इन्भेष्ट गर । जग्गा कसैले बोकेर लैजान सक्दैन्। आफ्नो नाममा भएको जग्गा जीवनभरलाई काम लाग्छ । त्यसैले बैंकका बचतकर्ता बेलैमा सचेत होऔं ।

बुढापाकाले भन्छन् नि,‘हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा बीऊ जोगाउनु।सहकारीबाट अब बैंकका बचतकर्ताले पाठ सिक्न आवश्यक छ । अहिले सहकारीको बचतकर्ताले बिनासित्ती सास्ती खेपिरहेका छन्।

कहिले कुन निकाय धाउँछन् कहिले कुन । यही अवस्था बैंकका बचतकर्ताको नबनोस् । सरकार त सरक्क साइड लागिहाल्छ । सहकारीमा समस्या देखिएको लामो समय भइसक्यो। तर, सरकारले के गर्यो ?

बचतकर्ता डुबेको हेरेर बस्यो । बचतकर्ताको पैसा कसरी फिर्ता गराउन सकिन्छ ? सरकारसँग कुनै योजना छैन् । पछिल्लो समय बैंककै कर्मचारीले खाताको पैसा चोरिरहेको खबरहरु आइरहेको छ ।

यता, बैंकको लगानी जम्मै घरजग्गा, सेयर र गाडीमा छ । ऋणीहरुले ऋण तिर्न नसकेपछि धितो छोडिदिएका छन्। तर, अहिले घरजग्गाको कारोबारमा मन्दी छ । बैंकहरुलाई नै धितो ‘निल्नु न ओकाल्नु’ भएको छ।

अर्कोेतर्फ ऋण लिने जाने पनि छैनन्। यद्यपि, बैंकको खर्च त छ। कर्मचारीलाई तलब खुवाउनुपर्यो, घरभाडा तिर्नुपर्यो । अन्य विविध खर्च हुन्छ । बैंकले बचतकर्ताकै पैसाबाट आफ्नो खर्च पूर्ति गरिरहेको देखिन्छ।

बैंकको कर्जा नउठ्ने ठाउँमा फसिसकेको छ । बैंकहरुमा संकट छ, तर राष्ट्र बैंकले सर्वसाधारणलाई कुनै जानकारी दिएको छैन्। हेर्दाहेर्दै एउटा बैंक डुबिसकेको छ । राष्ट्र बैंकको ठीक छ भनेर बैंक डुब्यो। राष्ट्र बैंकले खेलाँची गर्ने हो भने अबको केही समयमै अन्यको पनि त्यस्तै अवस्था बन्छ। बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले घुस खाएर धमाधम अनुत्पादक क्षेत्रमा कर्जा लगानी गरे।

उनीहरुलाई त्यो जोखिमपूर्ण छ भन्ने थाहा थियो, तैपनि रातारात चौब्बर नाफा कमाउन धमाधम कर्जा लगानी गरियो । सरकारी मूल्याकंनमा एक लाख रुपैयाँ पर्ने जग्गा भूमाफियाहरुले मूल्य बढाएर करोड पुर्याएका थिए। विभिन्न संस्थाले एक सय रुपैयाँमा निकालेको सेयर दलालीहरुले झण्डै चार हजार रुपैयाँसम्म पुर्याए । छिमेकी मुलुकमा एक लाखमा पाउने गाडी यहाँ लाखौंमा खरिदबिक्री हुन्थ्यो।

बैंकजस्तो संस्थालाई यी विषय थाहा नहुने कुरै भएन् । दलालीको लहैलहैमा उनीहरुले आँखा चिम्लेर लगानी गरेका छन् । कारोबार हुञ्जेल त बैंक तथा वित्तिय संस्थाले राम्रै कमाइरहेका थिए । तर, जब कारोबार घट्दै गयो, त्यसपछि मात्र थकथकी लाग्यो।

सहकारी डुब्नुको प्रमुख कारण यी तीन क्षेत्र हुन् । आफूलाई अर्थविद् दाबी गर्नेहरु मुलुकमा अनगिन्ती छन् । तर, कसैले पनि यो कुरा बताएनन्। बैंक तथा वित्तिय संस्था र सर्वसाधारणलाई सचेत बनाएनन् । दलालीहरु अरुलाई फसाएर आफू उक्सिए, सीधासाधी जनता चुलुम्मै डुबे ।