वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा आहुति चयन,सबै तहका सरकारसँग हिसाब खोज्ने निर्णय

काठमाडौं। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा विश्वभक्त दुलाल ९आहुति० चयन भएका छन्।पार्टीको पहिलो राष्ट्रिय सम्मेलनले आहुति नेतृत्वमा ५१ सदस्यीय केन्द्री समिति बनाएको छ । सो पार्टीको राष्ट्रिय सम्मेलन गत १९ देखि २१ पुससम्म काठमाडौंमा भएको थियो।

बिहीबार सम्मेलनका निर्णय सार्वजनिक गर्दै महासचिव आहुतिले छरिएर रहेका क्रान्तिकारी कम्युनिष्टहरू एक हुनका लागि पहल गर्ने निर्णय भएको जानकारी गराएका छन्।

त्यस्तै, क्रान्तिकारी शक्तिहरूका बीचमा संयुक्त मोर्चा निर्माण गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा नयाँ उचाईमा संघर्षको उठान गर्ने निर्णय पनि भएको जानकारी गराइएको छ ।

सम्मेलनपछि बसेको पार्टीको केन्द्रीय समिति बैठकले तीन महिने कार्ययोजना निर्माण गर्ने निर्णय पनि जारी प्रेस विज्ञप्तिमा बताइएको छ ।

जसअन्तर्गत माघ २० गतेसम्म सबै ब्यूरोस्तरीय प्रशिक्षण सम्पन्न गर्ने, फागुन र चैत्र महिनामा २ महिने विशेष राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी गराइएको छ ।

‘अभियानको क्रममा सबै तहका सरकारहरूको हिसाब खोज्ने, भ्रष्टहरूलाई कारबाही गर्ने,जनताका समस्याहरु समाधान गर्न पहल लिने निर्णय गरेको छ। अभियानको उत्कर्षको रुपमा चैत्र २४ गते देशव्यापी प्रदर्शन गर्ने तथा चैत्र अन्तिम साता केन्द्रीय पार्टी स्कुल सञ्चालन गर्ने निर्णय गरिएको छ,केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ ।