भरतपुर अस्पतालको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चितवन। भरतपुर अस्पतालको सेवा एवम् कार्यसम्पादनबारे सार्वजनिक सुनुवाई कार्यक्रम अस्पतालको परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु अस्पतालका प्रमुख सल्लाहकार डा भोजराज अधिकारी, मेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण प्रसाद पौडेल, प्रदेश माननीय उत्तम जोशी, अस्पतालका पूर्व अध्यक्ष विजय सुवेदी, विकास समितिका सदस्य डिल्लीराम लामिछाने, नेपाल पत्रकार महासंघ सूचना पुनरावेदन समिति संयोजक हरि अधिकारी, पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुली लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण प्रसाद पौडेलले अस्पतालको स्तरोन्नतिको बारेमा र आगामी योजनाबारे प्रष्ट पारे। अस्पतालले अत्याधुनिक प्रविधिको एम आर ई मेशिन सञ्चालनमा ल्याएको र आगामी वर्षमा मुटु रोगीको लागि क्याथल्याबको काम सम्पन्न हुने बताए। अस्पतालले बिरामीलाई कुरुवा घर, थप दुईवटा टिकट र बिलिङ काउन्टर, आगामी वर्षमा मेडिकल डाक्टरको अध्यापन लगायत बिरामीको सेवा सुविधा अझ बढाउन भरमग्दुर प्रयत्नशील रहने जानकारी दिए। कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रदेश माननीय उत्तम जोशीले भरतपुर अस्पतालको सेवा एवम् कार्यसम्पादन राम्रो र गुणस्तरीय भएकोमा खुसी लागेको बताए। अतिथि अस्पतालका पूर्व अध्यक्ष एवम् वर्तमान प्रमुख सल्लाहकार डा भोजराज अधिकारीले आफ्नो कार्यकालमा निर्णय भई निर्माण भएको खानेपानी आयोजना, डि ब्लक भवन, निकट भविष्यमा एमबिबिएस कक्षा सञ्चालन, विभिन्न अस्पतालमा सुधारका सुरुवात भएको र अब किड्नी ट्रान्सप्लान्ट कार्यक्रम संचालन गर्नुपर्नेमा विशेष जोड दिन आवश्यक सहकार्यको अपेक्षासहित सारगर्भित मन्तव्य राखे।

अस्पताल विकास समितिका पूर्व अध्यक्ष विजय सुवेदीले गुरु योजना लागू गर्ने सन्दर्भमा अस्पतालले बिरामीलाई दिएको सुविधा परिष्कृत भएकोमा खुसी लागेको बताए। कार्यक्रममा जनसाधारणको प्रश्नहरुको उत्तर दिदै मे सु कृष्ण प्रसाद पौडेलले अस्पतालको स्तरोन्नतिको लागि सबै नागरिक समाजका अगुवा, पत्रकार, राजनीतिक दलका शीर्ष नेताहरू सबै सबै सरोकारवालाहरुलाई हातेमालोको लागि आह्वान गरे।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालको स्तरोन्नतिको लागि आफूहरु हरेक पल सकारात्मक र उर्जावान रुपमा नीति तथा योजनाहरु कार्यान्वयनको चरणमा प्रवेश गरेको बताए। वादे वादे तत्व बोध जायते भन्दै पौडेलले यस प्रकारका सार्वजनिक सुनुवाई कार्यक्रम आफ्नो अनुहार ऐनामा हेर्न सहायता गर्नका निमित्त तथा अस्पतालको स्तरोन्नतिको लागि र सेवा प्रवाहमा कोसे ढुङ्गा साबित हुने धारणा व्यक्त गरे। आगामी आफ्नो कार्यकालमा तन मनले भरतपुर अस्पतालको लक्षित वृतिविकास गरी सेवा प्रवाहको हिसाबले एक नम्बरको संघीय अस्पतालको रुपमा विकास गर्न सकिने बताउदैं कार्यक्रम समापन गरे। उक्त कार्यक्रममा अस्पतालका कर्मचारी, सरोकारवाला निकाय, आम सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।