रविसहित स्वर्णलक्ष्मी सहकारीका ३९ प्रतिवादीको बयान सुरू
काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाको बयान सुरु भएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, सहकारीका व्यवस्थापक नवीन अछामीसहित ३९ जनाको काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सुरू भएको हो। बयान सकिएपछि थुनछेक बहस हुने छ।
थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ। प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो।
उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गरेको छ। लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र ६५ लाख धरौटी तिरेर रिहा भएका थिए।
त्यसपछि शुक्रबार आफैं काठमाडौं अदालतमा उपस्थित हुनेगरी थुनामुक्त भएका लामिछाने आज अदालतमा हाजिर भएका हुन्।