स्थानीय तहमा नयाँ व्यवस्था: एकैचोटि प्रमुख र उपप्रमुख रिक्त भए कार्यवाहक तोक्न पाइने

काठमाडौं । सरकारले स्थानीय तहका प्रमुख, उपप्रमुख वा अध्यक्ष, उपाध्यक्ष दुवै पद रिक्त वा निलम्बनमा परे कार्यवाहक तोक्न सक्ने व्यवस्था मिलाएको छ। कार्यपालिका सदस्यमध्येबाटै कार्यवाहक प्रमुख तथा उपप्रमुख तोक्न सक्ने व्यवस्था गरिएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ संशोधन गर्ने गरी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको छ। सो अध्यादेशमा प्रमुख, उपप्रमुख वा अध्यक्ष, उपाध्यक्ष दुवै पद रिक्त, अथवा निलम्बनमा परे कार्यवाहक तोक्न सक्ने नयाँ व्यवस्था गरिएको हो ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा संशोधन गरी कुनै स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष वा प्रमुख र उपप्रमुख दुवै निलम्बनमा परेमा वा कुनै कारणले दुवै पद रिक्त भएमा कार्यपालिकाका सदस्यहरूले आफूहरू मध्येबाट छनोट गरेको सदस्यले कार्यवाहक अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख भई काम गर्ने, अध्यादेशमा उल्लेख छ ।

त्यस्तै, कुनै वडाअध्यक्षको पद कुनै कारणले रिक्त भएमा वा निलम्बनमा परे वडा समितिका सदस्यले आफूहरूमध्येबाट छनोट गरेको सदस्यले कार्यवाहक वडाअध्यक्ष भई कार्य गर्ने अध्यादेशमा उल्लेख छ । यो अध्यादेश सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ भने राष्ट्रपतिबाट जारी भई राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ।