पर्यटन र उड्डयन क्षेत्र चलायमान बनाउने गरी सरकार लागेको छ: पर्यटनमन्त्री पाण्डे

काठमाडौं। संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति,पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको दावी गरेका छन्।

आइतवार कामठमाडौँमा नेपाल होटल व्यवसायी महासंघको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले संस्कृति,पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी काम अघि बढाइरहेको दावी गरेका हुन्।

उनले नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश भएकाले नेपालको पर्यटनको प्रचारप्रसार तीव्र बनाउनुपर्ने बताए। उनले नेपालको पर्यटकीय सम्भावना देखाउने माध्यम नागरिक उड्डयन क्षेत्र भएकाले हवाई उडान सहज र सर्वसुलभ बनाउने गरी सरकारले काम गरिरहेको बताए।

‘विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको छ। यसलाई सजिलो गरी देखाउने, छोटो समयमा धेरै देखाउनसक्ने माध्यम भनेको नागरिक उड्डयन क्षेत्र हो‚ उनले भने, ‘यही महिनामा के योजना छ भने हाम्रो विषयगत समिति छ। केन्द्रको मन्त्रीको अध्यक्षतामा संघ र प्रदेशका पर्यटनमन्त्रीहरु र स्थानीय तहसँग जोडिएको विषयगत समितिको बैठक बस्दै छौँ।

मन्त्री पाण्डेले पर्यटनसँग सम्बन्धित मन्त्रालय, सरकारी र निजी निकायहरुसँग समन्वय र सहकार्य गरेर माघमा सर्वपक्षीय सम्मेलन गर्ने जानकारी दिए।