थुनछेक बहसका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रामिछानेलाई केहि बेरअघि अदालतमा उपस्थित गराइएको हो । आइतबार आफैं अदालत उपस्थित भएका लामिछाने हाल काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्।

न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा आइतबारै उनको बयान लिइएको थियो । त्यसपछि सोमबार जाहेरवाला र सरकारी वकिलको तर्फबाट बहस सकिएको थियो । त्यसदिन बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

समय अभाव भएकाले प्रतिवादी लामिछानेको तर्फबाट भने बहस सुरु नै भएन । हिजो (मंगलबार) सार्वजनिक बिदा भएकाले बहस हुन सकेन । यसर्थ सोमबारको बहसलाई आज निरन्तरता दिन लागिएको हो।

प्रतिवादी लामिछाने तर्फका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्। त्यसपछि उनलाई धरौटीमा रिहा गर्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश हुनेछ। लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्नेछन्।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ। जसमा पक्राउ परेका दुई जना धरौटी रकम बुझाएर रिहा भइसकेका छन्।