संसद्को हिउँदे अधिवेशन आजदेखि,विपक्षी दलले अध्यादेश पेश गर्न नदिने

काठमाडौं।संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार शुरु हुँदैछ। दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। संसद् अधिवेशनको सबै तयारी पूरा भएको प्रवक्ता एकराम गिरीले जानकारी दिए।

अधिवेशन शुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै दुवै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची छ ।

विपक्षी दलहरुले बोल्न दिने तर, अध्यादेश पेश गर्न नदिने रणनीति बनाएका छन्। संसदमा बोल्ने र अध्यादेश पेश गर्न लाग्दा अवरुद्ध गर्ने तयारी विपक्षी दलहरूको छ।

संसद् बैठकको अघिल्लो दिन सिंहदरबारस्थित बसेको विपक्षी दलहरुको बैठकले अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको थियो।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ पेश गर्नेछन्। यस्तै ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पनि उनले पेश गर्नेछन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने कार्यसूची छ।

गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेले मन्त्रिपरिषद्को सिफारिसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।

त्यसपछि २९ पुसमा थप चार अध्यादेश जारी भएका थिए । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश भने माघ २ मा जारी भएको थियो।

विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेशको विरोध गर्दै आएका छन्। संसद् बैठकको पहिलो दिन पेश गर्न नदिने रणनीति बनाएका छन्। यसको सशक्त प्रतिकार गर्ने उनीहरूको तयारी छ।