लागुऔषध कारोबारी समात्ने क्रममा ४ राउण्ड गोली फायर, एक घाइते, एकजना भागे
काठमाडौं। लागुऔषध कारोबारी समात्न नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१२ पचगाँवा बस्ने ५२ वर्षका राजेश लोनियाको घरमा पुगेको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली फायर गरेको छ।
विशेष सूचनाका आधारमा लागुऔषधसहित कारोबारी समात्न पुगेको प्रहरीमाथि आक्रमण गरी पेस्तोल खोस्न थालेपछि ४ राउण्ड गोली फायर गर्नुपरेको प्रहरीले जनाएको छ।
पेस्तोल खोसेर कारोबारी भाग्न लागेपछि बाध्य भएर गोली हान्नुपरेको र सो क्रममा लोनियाको बायाँ साँप्रामा गोली लागेको नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।
उनको अहिले जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ। त्यहाँबाट प्रहरीले ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ। सो क्रममा एक जना भने भाग्न सफल भएका प्रहरीले जनाएको छ। घटना हिजो राति भएको हो।