आवासीय चिकित्सक आन्दोलनमा

आन्दोलनरत आवासीय चिकित्सकहरूले आज ‘पेन डाउन’सहित विरोध प्रदर्शन गरेका छन्। सरकारीसरह पारिश्रमिक माग गर्दै आएका चिकित्सकहरूले बिहान ९ बजेदेखि १० बजेसम्म ‘पेन डाउन’सहित प्रदर्शन गरेका हुन्।
त्यसपछि दिउँसो १ माइतीघर मण्डलामासमेत भेला भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको संयोजक डा। शेषराज घिमिरेले जानकारी दिए।
संघर्ष समितिले इन्टर्न तथा एमडी, एमडीएस, डिएम र एमसिएच अध्ययनरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक सरकारीसरह कायम गर्न माग गर्दै आएका छन्।
उनीहरूले सम्पूर्ण पिजी कार्यक्रमहरू पूर्णरूपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन्। आफ्ना मागको सुनुवाइ नभएसम्म आन्दोलन जारी राख्ने आवासीय चिकित्सकहरूले चेतावनी दिएका छन्। तर निजी मेडिकल कलेजहरूले भने सरकारीसरह तलब दिन नसकिने अडान राख्दै आएका छन्।
मन्त्रीद्वय हस्ताक्षरित निर्णयमा सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तीमा पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष रु ३० हजार र तेस्रो वर्ष रु ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको छ भने निजी कलेजमा पनि निस्शुल्क पिजी पढ्नेले अध्ययन सकिएपछि अध्यन गरेकै मेडिकल कलेजमा दुई वर्ष अनिवार्य सेवा दिनुपर्ने शिक्षा र स्वास्थ्य मन्त्रीले गरेको सहमतिम उल्लेख गरिएको छ।