नयाँ पिढी बाहिर गइरहेका छन्, यही हो प्रगति: चित्रबहादुर केसी
काठमाडौं। सांसद चित्रबहादुर केसीले नयाँ पिढी विदेशिदा मुलुक रित्तो हुँदै गएकाले नीति निर्माताले विशेष ध्यान दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै उनले नयाँ पिढीलाई देशमै राख्ने प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘हामीले घोषित नीतिअनुसार राजनीति गर्न सकेनौँ। अहिले मुलुकको यथार्थ तस्बिर हेर्ने हो भने नयाँ पिढी बाहिर गइरहेका छन्। यही हो हाम्रो प्रगति रु यही हो प्रगति।
सांसद प्रेम सुवालले पूर्वाधार क्षेत्रमा विकास भएको दाबी गर्ने तर ऋण बोकाएको बारेमा कसैले नबोल्ने प्रवृत्ति गलत भएको बताए। उनले भने, ‘नेमकिपा बाहेक सबै दल मिलेर सरकार गठन हुँदा देश र जनताको समस्या सामाधान गर्ने काम हुन सकेको छैन। उनले पूर्वाधार नै नभएका विश्वविद्यालयसँग सम्बन्धित विधेयकलाई अघि बढाउने काम भएकामा आपत्ति प्रकट गरे।
सांसद डा अमरेशकुमार सिंहले वर्सेनि बढ्दै गएको सार्वजनिक ऋणप्रति चिन्ता व्यक्त गरे। उनले आर्थिक भ्रष्टाचार मात्रै नभई नीतिगत भ्रष्टाचार समेत मौलाएको उल्लेख गर्दै त्यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताए । उनले सरकारले लिएको ऋण के मा खर्च भएको छ भनेर श्वेतपत्र जारी गर्न माग गरे।