प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या
कैलाली। गत शनिवार मृत अवस्थामा भेटिएका अछाम ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरिएको प्रहरीको निष्कर्ष छ।
जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुको हत्या भएको खुलेको हो।
शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका–८ पल्साताकी किशोरीको प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरिएको प्रहरीले जनाएको हो।
शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले केही दिन पहिले पक्राउ परेका दुई किशोरले नै उनीहरुहको हत्या गरेको बताए।डीएसपी भण्डारीले भने, किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध र यौन प्रस्ताव देखिएको छ।
मृतक इशरा खड्का र पक्राउ परेकामध्ये एक नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुने गरेको खुलेको उनले बताए । उनीहरु दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुगाइसकेको भएपनि भेट्ने मौका पाएको थिएनन् ।
शुक्रबार गोठालो गएका बेला भेट्ने तय भएको थियो । इशरा खड्कासँग प्रेम सम्बन्धमा रहेका युवकबिच कुराकानी भइरहेको हुन्थ्यो । उनीहरुबिच प्रेमको चिनो स्वरूप विवाह गर्ने सर्तमा चुन्नी (दोपट्टा) साटिसकेको बताइएको छ ।
यस्तै, इशराको फुपू नाता पर्ने सरस्वतीसँग अर्का एक किशोरले संवाद सुरु गर्छन् । ‘उनीहरु जस्तै हामी पनि प्रेम गरौँ, विवाह गरौँ भन्दै अर्का युवकले सरस्वतीसँग कुरा गर्छन्।
विवाह गर्ने सर्तमा चुन्नी(दोपट्टा) साटासाट गर्न आग्रह गर्छन्। तर सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छिन्’ प्रहरी प्रमुख डिएसपी भण्डारीले भने,पहिले प्रेस र त्यसपछि यौन प्रस्ताव अस्वीकार गरेपछि आवेशका आएका युवकले नजिकै भएको ढुंगाले हानेर सरस्वतीले हत्या गरिएको रहेछ।
प्रहरीका अनुसार ढुङ्गा खसेको आवाज आएपछि इशरा र अर्का युवक घटनास्थलमा आइपुग्छन् । त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा दखेपछि युवकले माथिबाट खसेको ढुङ्गा लागेर उनको मृत्यु भएको दाबी गर्छन्। तर, इशराले भने फुपू सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने भनेर आक्रोश व्यक्त गर्छिन्।
घटना बाहिर आउने डरले इशराको पनि हत्या गर्ने आकस्मिक योजना बनाएको प्रहरीको भनाइ छ। इशारालाई पहिले पछाडिबाट डुङ्गाले हानेर हत्या गरियो, लडेपछि फेरि अगाडिबाट ढुंगाले हानेर मारिएको देखिएको पत्रकार सम्मेलनमा डीएसपी भण्डारीले बताए।
प्रहरीका अनुसार दुवै किशोरीको हत्यापछि आत्तिएका किशोरले घटनालाई भवितव्य देखाउने उद्देश्यले भीरमाथिबाट शव भएको स्थानतर्फ ढुंगा खसालेको पाइएको छ।