सहकारी क्षेत्रमा देखिएका समस्या अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको हो: सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी सम्बन्धी अध्यादेशबाट सहकारी क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
कांग्रेस सहकारी विभागले शनिबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सहकारी क्षेत्रमा देखिएका समस्या र विकृति अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको भन्दै यसबाट समग्र सहकारी क्षेत्रको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
सहकारीमा जम्मा गरेका लाखौँ बचतकर्ताहरूको रकम सञ्चालनहरूले अपचलन गरेको भन्दै उनले त्यसको सुरक्षाको ग्यारेन्टी गराउनुपर्ने बताए । सभापति देउवाले सहकारी क्षेत्रको विकास हुन सके समग्र अर्थतन्त्रकै विकास हुने जिकिर गरे ।
उनले अर्थतन्त्रका तीन आधारमध्ये एक सहकारी क्षेत्रको औचित्य र महत्त्व निकै रहेकाले कांग्रेसले सहकारी आन्दोलनलाई आम नागरिकसमक्ष पुराउन खोजेको बताए।