जबरजस्तीकरणी मुद्दामा फसाइदिन्छु भन्दै पैसा असुल्ने युवती पक्राउ
काठमाडौं। हनी ट्रयाप संलग्न रहेको अभियोगमा चितवन रत्ननगर नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका- १३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक-पटक मोबाइलमा सम्पर्क गरी माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र प्रहरी तथा परिवारमा समेत भनिदिन्छु भनी धाक धम्की, डर त्रास देखाई पीडितसँग रकम असुली गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१३ कुलेश्वरबाट पक्राउ गरेको हो।
उनलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।