रारा तालको एक होटलमा आगलागी, तत्काल उद्धार गरी बचाइयो पाहुना

काठमाडौं । रारातालको किनारमा अवस्थित एक होटेलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन्। गएराति रारा किनारको डाँफे होटेलको भान्साबाट शुरु भएको आगोले त्यहाँ रहेका ग्यास सिलिण्डर पड्किँदा अन्य तीन भवनमा क्षति पुगेको हो।
नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए। आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो।
प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। आगलागीबाट के कति क्षति भयो भन्नेबारे विवरण आइनसकेको प्रहरीले जनाएको छ।