पाथीभरा केबलकार विवादबारे कोशीका सांसदहरुसँग छलफल गदैं गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकलेपाथीभरा क्षेत्रको केवलकार निर्माणसम्बन्धी विवाद समस्याबारे कोशी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्दैछन् ।

मन्त्री लेखकले सिंहदरबारमा दिउँसो १ बजे कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग छलफल गर्न लागेका हुन्।

गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामचन्द्र तिवारीले मन्त्री लेखक र गृह सचिव गोकर्णमणि दुवाडीले कोशीका सांसदहरुसँग छलफल गर्न लागेको जानकारी दिए।

पाथीभरा क्षेत्रमा केवलकार बनाउने विषयलाई लिएर पूर्वी नेपाल अशान्त छ । फुङलिङ नगरपालिका–११ मा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले माघ १२ मा गोली चलाएको थियो । गोली लागेर यमबहादुर लिम्बु र सगुन लावती घाइते भएका थिए।

गत फागुन १० गते पनि आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप भयो । झडपका क्रममा एक दर्जनभन्दा बढी घाइते भएका थिए। यसमध्ये धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बु गम्भीर घाइते भएका थिए ।

घटनापछि सरकारले आन्दोलनरत पक्षलाई पुनः वार्तामा आउन आह्वान गरेको थियो । तर, आन्दोलनरत पक्ष वार्तामा आएका छैनन् । पाथीभरा (मुम्कुमलुङ)मा आन्दोलन गरिरहेका समूहले गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराई नेतृत्वको वार्ता समितिसँग वार्ता नगर्ने अडान लिएका छन् । यसैबीच आज गृहमन्त्रीले कोशी प्रदेशका संघीय सांसदसँग छलफल गर्न लागका हुन्।