अमेरिका युक्रेन खनिज वार्ता असफल: जेलेन्स्कीलाई ट्रम्पको चेतावनी,तिमी तेस्रो विश्वयुद्ध निम्ताइरहेका छौं

काठमाडौं । अमेरिका र युक्रेनबीच खजिन सम्झौता असफल भएको छ । युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ भएको वार्ता असफल भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन् ।

यसअघि अमेरिका र युक्रेनबीच खनिजसँग सम्बन्धी सम्झौता गर्न सहमति भएको थियो । तर, हस्ताक्षर गर्ने तयारी भएपनि पछिल्लो बैठक तनावपूर्ण भएको बताइएको छ ।

बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति जेलेन्स्की बैठक नसकी हिँडेपछि सम्झौता अघि बढ्न नसकेको हो। खनिज सम्झौता हुने निश्चितजस्तै भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले बैठक सुरु हुनुअघि जेलेन्स्कीको प्रशंसासमेत गरेका थिए। तर, बैठक सुरु भएपछि अवस्था असमान्य भएको समाचारमा उल्लेख छ। समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की भएपछि सम्झौता हुन नसकेको हो।

ह्वाइट हाउसका स्रोतलाई उद्धृत गर्दै रोयटर्सले ट्रम्प नै इच्छुक नभएपछि सम्झौता हुन नसकेको हो। समग्रमा दुई राष्ट्रपतिबीचको बैठक पूर्णरुपमा असफल भएको छ। चर्काचर्की बढ्दै गएपछि ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्ध निम्त्याइरहेको’ आरोप लगाएका थिए।

समाचारमा बताइएअनुसार ह्वाइट हाउसमा भएको वार्तामा दुई राष्ट्रपतिबीच चर्काचर्की भएको थियो। वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीलाई चेतावनी दिँदै भने, ‘तिमी तेस्रो विश्वयुद्धको जुवा खेलिरहेका छौं।

ट्रम्पले जेलेन्नस्कीलाई शान्तिका लागि तयार भएरमात्रै अर्को वार्तामा आउन भनेका छन्। ट्रम्प चर्कोरुपमा प्रस्तुत भएपछि जेलेन्नस्की बैकको निर्धारित समयअघि नै हिँडेका थिए।

ट्रम्पले यो सम्झौतालाई युद्धविरामका लागि पहिलो सर्तका रुपमा लिएका थिए । तर, उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा भएको कूटनीतिक दबाबका कारण वार्ता तनावपूर्ण बनेको बताइएको छ। यस घटनाले अमेरिका–युक्रेन सम्बन्ध थप जटिल बनाएको विश्लेषण गरिएको छ। साथै, युक्रेनलाई अमेरिकी सैन्य सहायताको निरन्तरता पनि अन्योल भएको छ।