प्रहरीका आइजीपी कुँवरकाे ब्याच अवकाशको संघारमा,राजनीति चपेटामा आईजीपी पद ?

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुँवर अबको केही दिन भित्र अवकाशमा जाँदैछन्। नेपाल प्रहरीको ३० औँ आईजीपी कुँवर २०५१ चैत ५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए। 

 आइजीपी कुँवरसँगैका ब्याचमेट ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) पनि अवकाशमा जाँदैछन्। एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनकराज भट्टराई यसै साता अवकाशमा जान लागेका हुन।

चैत ५ बाट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुव राउत पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने छन्। प्रहरी महानिरीक्षक कुँवरको ब्याच प्रहरी निरीक्षकमा भर्ना भएकै वर्ष प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएका सञ्जयबहादुर राउत र श्यामकुमार राई पनि अवकाश हुने भएका छन्।उनीहरु प्रहरी उपरीक्षक (एसपी) बाटै अवकाश हुने भएका हुन्। दुवै जनालाई प्रहरी किताब खानाले अवकाशको पत्र समेत बुझाइसकेको छ।

यसअघि कुँवरकै ब्याचका एआईजीहरू श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, मीरा चौधरी, सन्दीप भण्डारी, किरण राणा, भीमप्रसाद ढकाल, केदार ढकाल, उमेशराज जोशी, रामदत्त जोशी, भरतबहादुर बोहरा लगायत उमेर हदकै कारण ३० वर्षे सेवा अवधि पूरा नहुँदै अवकाश भएका थिए।

त्यस्तै पोषराज पोखरेल, राजेशनाथ बास्तोला, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनालले पनि उमेर हदकै कारण ३० वर्षे सेवावधि पूरा गर्न पाएनन्। उनीहरू डीआईजीबाटै अवकाश भएका थिए।

आईजीपी कुँवरको अवकाशसँगै ३१ औं आईजीपी हुन तीव्र प्रतिस्पर्धा सुरु भएको छ। चैत ५ मा नयाँ आईजीपी नियुक्त हुनेमा तीन जना एआइजी आ-आफ्नो ठाउँबाट राजनितिक लबिङमा लागि रहेका छन्। एआईजीहरू दीपक थापा, सुदिप गिरी र टेक तामाङ प्रहरी महानिरीक्षकको दाबेदार हुन्।

३१ औँ महानिरिक्षक बन्ने प्रतिस्पर्धामा सबैभन्दा अगाडी दिपक थापा छन्। मेरिट लिस्टको एक नम्बरमा भएको हुनाले मन्त्रिपरिषद्ले थापालाई नै महानिरीक्षक नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओली निकटका व्यक्तिहरूले बताउने गरेका छन्। प्रधानमन्त्रीले थपालाइ नै आइजीपी बनाउनु पर्नेमा जोड दिएको उनि निकटका व्यक्तिहरूले बताउने गरेका छन्। थपाले प्रधानमन्त्रीकाे आशिर्वाद लिइसकेकाले पनि उनकाे सम्भावना बलियाे हुँदै गएकाे एमाले नेताहरूले नै बताउने गरेका छन्। उनले एमालेका केही नेताहरूलाइ त प्रधानमन्त्रीसँग लबिङ खटाएकाे खुलेकाे छ।

त्यस्तै यता तामाङ काँग्रेस सभापति शेरबहादुर देउवाको आशिर्वाद लिन देउवा निवाससम्म पुगेकाले उनको सम्भावना पनि बलियो हुँदै गएको देखिन्छ। काँग्रेसकै गृहमन्त्री भएकाले पनि तामाङको सम्भावना बलियो हुँदै गएको बताइन्छ। एआईजी तामाङ पनि प्रहरी संगठनमा व्यवसायीक र सफल प्रहरी अधिकृतको रूपमा परिचित रहेका छन्।

त्यस्तै प्रहरी महानिरीक्षक बन्ने दौडमा रहेका गिरी पनि शक्ति केन्द्र धाउनमा व्यस्त रहेकाे स्राेतकाे दाबी छ। स्राेतका अनुसार अन्तिममा देउवा र ओलीबीच कुरा नमिले गिरीले बाजी मार्न सक्ने सम्भावना पनि बलियाे रहेकाे देखिन्छ। गिरी पनि संगठनमा व्यवसायीक प्रहरी अधिकृतको रूपमा चिनिन्छन्।

त्यस्तै यसअघि पटकपटक चर्चामा आएको तर अगाडि नबढेको प्रहरी विधेयक संसदमा पेस भइसकेको छ। नयाँ प्रहरी ऐन कार्यान्वयनमा नआए उनिहरूको पनि सेवा अवधि छोटो हुने देखिन्छ।

अहिलेकै व्यवस्था कायम रहे दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ २०८२ भदौ १९ गतेदेखि अनिवार्य अवकाश हुने छन्। उनिहरू तीनैजना २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका हुन्। एकजना आईजीपी र बाँकी दुईजना एआईजीबाटै अवकाश हुने छन्।

त्यसपछि डीआईजीहरू चन्द्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल भने २०८२ कात्तिक २७ गतेसम्म सेवामा रहने छन्। आईजीपी कुँवरकै ब्याचको वैकल्पिक सूचीमा रहेका उनीहरू २०५२ कात्तिक २७ गते मात्रै नियुक्त भएका थिए।सरकारले सम्भवत उनीहरु मध्ये एकजनालाई ३२ औं आइजीपी नियुक्त गर्न सक्ने अवस्था देखिन्छ। 

हाल सरकारमा सहभागी राजनीति दल कांग्रेसका सभापति देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली दुवैले आफ्नो राजनीति जीवनमा गृह प्रशासन चलाइसकेको अनुभवका कारण पनि राज्यमा देखिएको खबरदारीले अब ३१ औं प्रहरी महानिरीक्षक चयन पारदर्शिता हुन जरूरी तथा आवश्यक रहेको देखिन्छ।

त्यस्तै हालका गृहमन्त्री रमेश लेखक कानुनका जानकार भएकाले पनि प्रहरी संगठन प्रमुख चयनमा निर्वाध रूपमा स्वच्छ तरिकाले चयन गर्नेमा कुनै शंका भने देखिदैन। त्यस्तै गृहमन्त्री लेखकले एआईजीहरूको संगठन भित्रको कार्यसम्पादनका आधारमा प्रहरी प्रमुख नियुक्ति गरिने र प्रहरी प्रमुख नियुक्ति गर्दा कुनै राजनिति नहुने दाबी केही समय अगाडिदेखि गर्दै आउर्नु भएको छ। प्रहरी संगठनको प्रमुख चयनको प्रक्रियामा विगतका कार्यसम्पादनका आधारमै निर्वाध रूपमा स्वच्छ तरिकाले चयन गर्नेमा कुनै शंका नगर्न मन्त्री लेखकले आग्रह गर्नुभएको छ।

त्यस्तै  प्रहरीको इतिहास केलाउने हो भने हालसम्म नियुक्ति भएका संगठन प्रमुखले के के सुधार गरे त्यो मूल्यांकन हुन जरूरी देखिएको छ।जुनै जोगी आए पनि कानै चिरेको भने झै देखिन्छ। संगठन प्रमुखले संगठनलाई चेन अफ कमाण्डमा राख्नु नै उसको प्रमुख जिम्मेवारी हो।

त्यसैले ३१ औं संगठन प्रमुख चयनका प्रतिस्पर्धीहरू आ-आफनो रणनीति अनुसार लबिङमा व्यस्त देखिन्छन। राज्यमा शान्ति सुरक्षा, नागरिकको जिउधनको सुरक्षा गर्नु नै प्रहरी संगठनको मुख्य दाहितो हो।

नेताको भक्त रहने प्रथा चिर्नका लागि संगठन प्रमुख चयन स्वच्छ हुनुपर्नेमा जनताहरूले नै आवाज उठाउन थालेका छन्। तर, प्रहरी प्रमुख चयन प्रक्रियामा प्रधानमन्त्री नै हावी हुने देखिन्छ।