ट्याक्टर अनियन्त्रित भएर घरभित्र छिर्दा पाँचजना घाइते
देउखुरी । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ स्थित एक घरमा ट्याक्टर अनियन्त्रित भएर घरभित्र छिर्दा पाँचजना घाइते भएका छन् ।
शनिबार राति बिजौरीबाट मानपुरतर्फ जाँदै गरेको लु।प्र००२–००१ त ००८५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भइ स्थानीय मुरारी शर्माको दुईतले घरमा ठोक्किएको थियो ।
उक्त दुर्घटनामा परी सोही घरमा बस्दै आएका ५६ वर्षीय रामकृष्ण चौधरी, उनकी छोरीहरु २८ वर्षीया शान्ति चौधरी, २० वर्षीया त्रिमा चौधरी, स्थानीय ४२ वर्षीय भक्तबहादुर खत्री र २८ वर्षीय रामजी गुप्ता घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए ।
घाइतेलाई तुलसीपुरस्थि राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै नेपालगन्ज नर्सिङहोममा रिफर गरिएको थियो। दुर्घटना लगतै ट्याक्टर चालक स्थानीय २० वर्षीय गोविन्द वली फरार रहेको प्रहरीले जनाएको छ । ट्याक्टर धनी स्थानीय २७ वर्षीय कमल पुनलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।