फोटो जलाउँदैमा पक्राउ गर्नु उचित होइन: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तस्वीर जलाउँदैमा कसैलाई पक्राउ गर्नु उचित नहुने टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डको तस्वीर जलाएको आरोपमा आइतबारमात्रै चितवनबाट राप्रपाका एक नेता पक्राउ परेका थिए । उक्त कार्य उचित नभएको प्रचण्डको भनाइ छ ।लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन्,प्रचण्डले भनेका छन्,फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।
पक्राउ पर्ने कालिकोटका निराजन बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव समेत हुन्। उनलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।
उनले हेटौंडाको एक कार्यक्रममा शनिबार प्रचण्डको तस्वीर जलाएका थिए । उनले कार्यक्रममा ‘तपाईंहरू यो मान्छेलाई त चिन्नुहुन्छ होला नि’ भन्दै प्रचण्डको तस्वीर जलाएका थिए।उनलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेर प्रहरीले मकवानपुर पठाएको छ।