नेपाल प्रहरीले आजबाट नयाँ आईजीपी पाउँदै,थापा,तामाङ र गिरी मध्य कसको सम्भावना कति?

काठमाडौं । सरकारले आज नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्दैछ । त्यसका लागि आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

उक्त बैठकले नेपाल प्रहरीमा आज राति १२ बजेबाट रिक्त हुने र भोलि बहाली हुनेगरी ३१औँ आईजी नियुक्त गर्ने तयारी रहेको छ। तर, सरकारले नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) चयन नगर्दै बहालवाला आईजीपीसहितका उच्च अधिकृत आज बिदा हुँदैछन्।

नेपाल प्रहरी प्रधान कार्यालयले त्यही समयमा आईजी वसन्तबहादुर कुँवरसहितका उच्च अधिकृतको बिदाई कार्यक्रम तय गरेको केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले बताए। उनीहरू प्रहरी सेवा नियमावली अनुसार ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश हुन लागेका हुन्।

मन्त्रिपरिषद्ले नयाँ आईजी नियुक्त गरेपनि दज्र्यानी चिह्न (फुली) लगाएपछि मात्रै पदभार सम्हाल्ने प्रचलन छ। बिदा हुने आईजीले जनपद प्रहरी समूहतर्फका वरिष्ठतम एआईजीलाई आफ्नो कार्यभार बुझाउने प्रचलन छ।

वर्तमान आईजी कुँवर र उनका व्याचीको बिदाइपछि एआईजी दीपक थापा वरिष्ठतम एआईजी रहन्छन्। नयाँ आईजीको प्रतिस्पर्धामा दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी छन्। उनीहरु तीनैजना २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका हुन्। सम्भवतः मन्त्रिपरिषदको बैठकले थापालाई भावी आईजी नियुक्त गर्नेछ।

एआइजीहरु टेकप्रसाद राई, बुद्धिबहादुर गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि आजै बिदाइ हुँदैछन्। डीआईजीहरुमा गण्डकी प्रहरी प्रमुख ध्रुवबहादुर रावल, सुदूरपश्चिम प्रहरी प्रमुख गणेश चन्द, उपत्यका प्रहरीका ट्वाइसी ध्रुव राउत पनि आजै बिदा हुँदैछन्।