चिहानको जग्गासमेत नछोड्ने नेताहरु लोकतन्त्र गणतन्त्रको वकालत गर्दै,जनतालाई भ्रमित बनाउँदै

सांकेतिक तस्वीर

 ‘जो चोर, उसकै ठूलो स्वर’ भन्ने नेपाली उखान पछिल्लो समय सदनमा देखिन थालेको छ । सदन देश र जनताको आवाज उठाउने थलो हो । सांसदले देश र जनताको हकहितका निम्ति सदनमा आवाज उठाउने हो । जुनसुकै दलको सांसदले कुरा उठाएपनि सरकारले सुन्नैपर्छ । सभामुखले त्यसलाई लबिङ गरिदिनुपर्छ । तर, सभामुख दलको नेताको भूमिका निर्वाह गर्छन् ।

केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का दुई सांसदले सदनमा एउटा महत्वपूर्ण विषय उठाए । शिक्षामन्त्रीसमेत रहिसकेकी सुमना श्रेष्ठ र शिशिर खनालले काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोकमा रहेको चिहानको जग्गा नेपाली काँग्रेसका सांसदले कब्जा गरेको कुरा सदनमा राखेका थिए ।

रास्वपा सांसदले सो कुरा उठाउनेबित्तिकै काँग्रेसका सांंसदहरु कुर्सीबाट उठे । र, जुहारी खेल्नतर्फ लागे । देशभरको तालपोखरी, सरकारी र सार्वजनिक जग्गा, गुठीको जग्गा, आर्यघाट, जंगल मासेर खाने काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी हो ।

रास्वपा त नयाँ आएको पार्टी भयो । जनताले नै यी पार्टीले सरकारी सम्पत्ति कब्जा गरेको आरोप लगाउँदै आएका छन् । आफ्नो कार्यकर्ता पोस्न यी पार्टी कहीँकतैको जग्गा छोडेनन् । यतिसम्म कि, आर्यघाटको जग्गा पनि व्यक्तिको नाममा लगेर भोगचलन गरेका छन् । नेताहरुलाई कतै सरकारी सम्पत्ति देख्नै नहुने भयो ।

देख्यो कि व्यक्तिको नाममा लग्यो अनि भोगचलन गर्यो । चीन र भारतलाई नेपालको जग्गा बेचेर खाने पनि यी नेता हुन् । यो कुरा जनताले राम्ररी बुझेका छन् । सरकारी जग्गा खानेमाथि छानबिन र कारबाही हुनुपर्छ । जनताको आवाज उठाउने थलो नै हो, सदन । सरकारी जग्गा मिचेको छ भने सदनमा कुरा उठाउन नपाउनु ?

तर, काँग्रेसका सांसदले जुरुक्क उठेर विरोध गरिहाले । ‘चोरको खुट्टा काट्भन्दा चोरले हत्तपत्त खुट्टा उठाउँछ’, त्यस्तै दृश्य देखियो सदनमा । राष्ट्रियभन्दा ठूलो पार्टी हो ? सरकारी सम्पत्ति मिचिराखेको छ, अनि सो कुरा राख्दा बुरुकबुरुक उफ्रिने । सदन लोकदोहोरी खेल्ने ठाउँ हो र ?

उनीहरुले चिहानको जग्गा मिचेकोजस्तो गम्भीर कुरा उठाएपछि छानबिन गर्न पहल गर्ने कि उफ्रिने ? देशको सबैभन्दा पुरानो पार्टी काँग्रेसले त झन् छानबिनका लागि आवाज उठाउनुपर्थ्र्यो । विडम्बना, बसमा सहचालक बस्ने हैसियत नभएकाहरु सदनमा पुगे । गल्ती फेरि जनताकै हो ।

भूमाफिया, दलाल, मसानघाटको जग्गासमेत नछोड्नेलाई छानेर पठाएपछि यस्तो दुर्दशा देखिरहनुपर्छ । नेताहरुले केही नै बाँकी छोडेनन् । मठमन्दिर पनि खाएका छन्, ढुंगेधारा पुरेर व्यक्तिको नाममा लगेका छन् । राजनीतिक दलका नेताहरु भ्रष्टाचारी हुँदा, आफन्त पोस्दा, सरकारी सम्पत्ति केही बाँकी नछोड्दा आज व्यवस्था संकटमा परेको छ ।

जनता लोकतन्त्र गणतन्त्र चाँहिदैन्, राजतन्त्र फिर्ता ल्याउन भनेर सडकमा आइसकेका छन् । देशमा लोकतन्त्र गणतन्त्र केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, गगन थापा, नेत्रविक्रम चन्द, मोहन वैद्यले ल्याएका होइनन् ।

जनताका छोराछोरी मरेर आएको व्यवस्था हो यो । देशमा भ्रष्टाचार, असमानता, गरिबी, विभेद बढेपछि जनताका छोराछोरी सडकमा ओइरिए। मान्छे मर्ने क्रम बढेपछि राजाले सत्ता छोडिदिएको हो । जो १७ हजार मरे, जो आजपनि छातीमा गोली बोकेर हिँडेका छन्, उनीहरुको योगदानले यो व्यवस्था प्राप्त भएको हो ।

केपी, प्रचण्ड, विप्लव, बाबुराम, देउवा, गगन, वैद्य, माधवकुमारहरु त ‘लुटेरा’ हुन् । मर्ने बेलामा जनताको छोराछोरी मरे, मोजमस्ती यिनीहरुले गरिरहेका छन् । आज देशमा राजतन्त्रको आवाज उठिरहेको छ, किन ? यिनीहरुकै कारणले होइन् । यिनीहरुले राम्रो काम गरेको भए, भ्रष्टाचार नगरेको भए, त्यत्रो जनता शहिद भएर ल्याएको व्यवस्था संकटमा पर्थ्यो ?

जनतालाई भ्रमित बनाउन खोज्ने पनि एउटा हद हुन्छ । आफ्नो कारणले व्यवस्था जोखिममा परेको छ अनि राजालाई दोष लगाएर के फाइदा ? जनताले त देशमा परिवर्तन हुन्छ भनेर छातीमा गोली खाएका थिए । तर, यस्ता ‘घटिया’ नेताका कारण जनताको योगदान ‘वालुवामा पानी’ भएको छ ।

पुरानै व्यवस्था फर्किने अवस्था बनेको छ । नेताहरु कस्ता हुन्छन् ? देशका कथित नेताहरुले बुझेनन् । एक रोपनीदेखि १५ रोपनीसम्ममा महलजस्तो घर ठड्याएका छन् । तीन करोडको त घडी बाँध्छन् । ४५ लाखको चश्मा लगाउने पनि यिनीहरु नै हुन् । दिनको ७० हजारको पानी खाने, लाखौंको कोट र जुत्ता लगाउने पनि यिनीहरु नै हुन् ।

शहिद भएकाको परिवारले के पाए ? उनीहरुलाई बिहानबेलुका खान पनि धौंधौं परेको छ । छातीमा गोली लागेकाहरु उपचार नपाएर तड्पिएका छन् । यी ‘दलाल’ हरुले उनीहरुलाई फर्किएर पनि हेरेनन् । जनताले सुःख पाउँछन्, देश विकास हुन्छ, देशमा समानता हुन्छ, राजाको निरंकुशताको अन्य हुन्छ भनेर जनताका छोराछोरीले गोली थापेका हुन् ।

विडम्बना, नेताहरुले त्यसरी ल्याएको व्यवस्थामा आफ्नो फाइदा मात्र हेरे । अहिले तिनीहरु नै लोकतन्त्र गणतन्त्र खतरामा पर्यो भन्दै हिँडिरहेका छन् । हिजो लोकतन्त्र गणतन्त्रका लागि लडेका जनतालाई लोकतन्त्र गणतन्त्रको बचाऊमा उतारेर गोली खुवाउने सुरमा छन्, नेताहरु । जनतालाई यिनीहरुले भेडा सोचेका छन् ।

तर, जनताले धेरै बुझिसकेका छन् । यिनीहरुको लागि अब न जनता उत्रिन्छन् न साथ दिन्छन् । एउटा राजा फालेकोमा देशमा सयौं राजा जन्मिए। जसले निरन्तर जनतामाथि शासन गरेका छन् । जनताको अवस्था के छ ? नेताहरुलाई कहिल्यै बुझ्न चाहेनन् । जनतालाई भोको राखेर यिनीहरुले मोज गरे ।

आफ्नो दायित्वको समेत ख्याल गरेनन् । यिनीहरुको दमन बढ्दै गयो । जनताले कतिञ्जेलचाँहि सहने ? मँहगी बढेको छ । बेरोजगारीले जनतालाई शिथिल बनाएको छ । मासिक हजारौं विदेशमा बेचिएका छन् । जनताको घरमा चुल्हो बाल्न धौं धौं छ । देश विदेशी ऋणको दलदलमा फसेको छ ।

बैंक तथा वित्तिय संस्थाले जनतालाई घरबारविहिन बनाएको छ । जनताले तिरेको कर, विदेशबाट आएको रेमिट्यान्स यी नेता नामका ‘दलाल’ हरुको सेवासुविधामै सकिएको छ । आफूले के गरे, उनीहरुले अहिलेसम्म विचार गरेका छैनन्। उल्टै चैत १५ गते आन्दोलन गर्ने भन्छन्।

यिनीहरुको आन्दोलनमा जनता आउँछन् ? आउँदैनन् । किन कि जनतालाई अब पुगिसक्यो। यिनीहरुको नाम सुन्दासमेत जनतामा आगो बल्छ। अब पनि जनतालाई सडकमा ओइराछौं अनि उनीहरुलाई कुटाई खुवाएर आफू जोगिन्छौं भन्ने यिनीहरुको दाउ हो । सदन चलेको माघ १८ गतेदेखि हो।

तर, अहिलेसम्म कति ऐनकानुन बने ? कसले देश र जनताको आवाज उठायो ? जनतासँग डराएर सरकारले काठमाडौं र ललितपुरका भिआईपी क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। काम गर्न सकेको भए जनतासँग डराउनुपर्थ्यो ? भन्छ जनताको सरकार, गर्छ जनतामाथि शासन।

हामीले तिरेको कर कहाँ गयो ? हाम्रा छोराछोरीले विदेशमा गएर पठाएको रेमिट्यान्स खोइ ? नेपालको भूभाग भारत र चीनलाई बेचेको पैसा खोइ ? देश धितो राखेर ल्याएको अर्बौं रुपैयाँ कहाँ छ ? सरकारी सम्पत्ति बेचेको पैसा कहाँ छ ? जनताले सोध्दैनन्। जनताले पहिलेदेखि खबरदारी गरेको भए, सायद आज यो दिन देख्नुपर्थ्यो होला।

जनता पनि पार्टीको झोले भइदिए । व्यक्तिगत फाइदा लिन पाइन्छ कि भनेर पार्टीको पछाडि दौडिए । जसको परिणाम, आज नेपाल नै नरहने अवस्था बन्यो। अहिलेपनि जनतालाई झुक्काउने काम भइरहेको छ। प्रचण्ड अहिले टीमसहित केराको पातमा भात खान जनताको घरमा पुग्छन्।

मिडियाले उनको तस्बिर खिचेर हाल्छ। तर, उनको कोट र घडीको मूल्य कति छ ? यो खोजौं। जनयुद्धका नेता यस्ता हुन्छन् ? पहिलेभन्दा अहिले धेरै शोसक, सामान्ती भए। एउटा राजा फालेको, हजारौं उम्रिए।