नेपाल प्रहरीकाे महानिरीक्षक हुनेमा थापाकाे लगभग पक्कापक्की
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई बालुवाटारमा बोलाएका छन् । सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको अवस्थामा ओलीले सबै मन्त्रीलाई बालुवाटार आउन निर्देशन दिएका हुन् ।
सरकारले अपरान्ह बस्ने मन्त्रिपरिषद्बाट प्रहरीको नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने तयारी गरेको छ । नयाँ महानिरीक्षकका लागि तीनजना प्रहरी अतिरिक्त महानिरीक्षकहरु दिपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ प्रतिस्पर्धामा छन् । उनीहरु एउटै ब्याचका हुन् ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बिदा लिने तयारी गरिरहेका बेला सोमबार नै नयाँ प्रहरी प्रमुखको टुंगो लाग्नेछ । प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई प्रहरी महानिरीक्षक बनाउन भन्दै सत्तारुढ दल नेपाली कांग्रेस समेत सहमत भएको स्रोत बताउँछ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई भेटेरै थापाको नाम सिफारिस गरेको उच्च स्रोतले जानकारी दियो । मन्त्रिपरिषद् बैठक बस्नुअघि देउवाले थापालाई आईजीपी बनाउन भन्दै प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
२०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थापा अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै प्रहरी प्रमुख बन्ने पक्का भएको बताइन्छ । विभिन्न सामाजिक सञ्जालमा पनि थापालाई अग्रिम बधाई दिइएको छ।