विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै

गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका छन्। कोहीको छोराछोरी विदेशमा छन् भने कसैको आमाबुवा। सन्तति विदेशमा भएपछि कतिपय गाउँ छोडेर सदरमुकाम त सुदरमुकाम छोडेर शहर पनि पसेका छन्। आमाबुवा विदेशमा भए छोराछोरी शहरमा बसेर पढ्छन्।

तर, अहिले जग्गा दलालीहरुले विदेशमा रहेका मानिसको आफन्तको खोजी थालेका छन्। कहाँबाट कति मानिस विदेश गएका छन् ? र, तिनका नेपालमा रहेका आफन्त कहाँ बस्छन् ? उनीहरुले खोजतलास शुरु गरेका छन्। यसो गर्नुको पछाडि एउटा कारण छ। त्यो हो, जग्गा बेचबिखन गर्न। पछिल्लो समय घरजग्गा किनबेच ठप्पै भएको छ।

जसका कारण यही कारोबार गरेर जीविकोपार्जन गर्दै आएका दलालहरु मारमा परेका छन्। त्यसैले, अहिले उनीहरुले सर्वसाधारण ठग्ने नयाँ आईडिया ल्याएका हुन्। विदेशमा रोजगारी गरिरहेकालाई महँगोमा जग्गा भिडाउने उनीहरुको योजना छ। यसको निम्ति दलालहरुले तिनका आफन्तको प्रयोग गर्न थालेका छन्।

आफन्तलाई कमिशन खुवाएर डाँडा पाखो वा भीरको जग्गासमेत महँगोमा भिडाइरहेका छन्। उता, विदेशमा रहेको व्यक्तिले भने आफन्तको विश्वासमा परेर जग्गा खरिद गर्छ। तर, के थाहा कि आफन्त नै शत्रु हुन्। आफन्तले आफ्नो बारेमा मात्र सोच्छन् । हुन त यहाँ आफन्तबाटै मानिसहरु सबैभन्दा बढी ठगिएको पाइन्छ।

विश्वासमा पर्दा उनीहरुले जीवनभर दुःख गरेर कमाएको पैसा आफन्तकै मिलेमतोमा लुटिने वा ठगिने गरेको छ । हिजो पनि आफन्तकै विश्वासमा परेर विदेशमा कमाएको रकम मानिसहरुले सहकारीमा जम्मा गरे । अहिले सहकारी भाग्दा उनीहरुको बिजोग भएको छ । अहिले न पैसा छ न फेरि कमाउन विदेश जान सकिन्छ ।

किनकि कतिपय रोगले थलिएका छन् भने कतिपयसँग विदेश जान पैसा छैन । मानिसहरुले विदेशमा पैसाको सुरक्षा हुँदैन भनेर त्यहाँ कमाएको रकम मासिक रुपमा नेपालमा भएका आफ्ना परिवार वा आफन्तको खातामा जम्मा गरिदिए । आफन्तले त्यो रकम मीटरब्याजमा लगानी गरे । घरजग्गा, गाडी र सेयर किने । अन्य क्षेत्रमा पनि लगानी गरे ।

अहिले सबैभन्दा बढी घरजग्गा, गाडी सेयरमा लगानी गरेकाहरु डुबेका छन् । यसको मूल्य ह्वात्तै घट्दा र किनबेचमा मन्दी आउँदा मानिसहरुको लगानी बालुवामा पानी बराबर भएको छ । पाँच वर्षअघि करोडौंमा किनेको घरजग्गा अहिले त्यसको आधा मूल्यसमेत आउँदैन ।

जबकी यसको मूल्य दिनमा दुई र रातमा चार गुणाले बढ्ने आशामा लगानी गरिएको थियो । आफन्तहरुले सोचविचार नगरी जथाभावी लगानी गरिदिँदा मानिसहरुले विदेशमा रगतपसिना बगाएर कमाएको रकम स्वाह भएको छ ।

सरकारले प्रत्येक दश–दश वर्षमा देशको जनसंख्या गणना गर्छ । हरेक पाँच–पाँच वर्षमा चुनाव गरिन्छ । जनगणना गर्ने क्रममा सरकारबाट खटाइएका कर्मचारीहरु घरघरमा तथ्याङ्क संकलन गर्न आउँछन् । एउटा घरमा कति मान्छे बस्छन् ? कसको कति परिवार छ ? सबै विवरण संकलन गरिन्छ ।

यस्तै, चुनाव हुँदा राजनीतिक दलका नेता तथा उम्मेदवारहरु घरघरमा भोट माग्दै आइपुग्छन् । त्यसक्रममा उनीहरुले मतदाता नामावली हेर्छन्। आफ्ना कति समर्थक घटे अर्थात् मृत्यु भयो ? र, अहिले कति मतदाता बढे ? त्यो हेरिन्छ । अहिले न जनगणना हुन लागेको छ न चुनाव । तर, जग्गा दलालीहरु भने घरघरमा गएर विदेशमा रहेकाहरुको तथ्याङ्क संकलन गरिरहेका छन् ।

विदेशमा रहेकाले दुःख, मेहेनत गरेर पैसा कमाउँछन् । आफ्नो कमाई यति रहेको उनीहरु घरपरिवार वा आफन्तलाई बताउँछन् । अधिकांशले त्यहाँ कमाएको रकम आफन्तकै खातामा मासिक रुपमा हालिदिन्छन् । यसैको फाइदा जग्गा दलालहरुले उठाइरहेका छन् । उदाहरणका निम्ति छोराछोरी विदेशमा रहे आमाबुबालाई दलालहरु फसाउँछन् ।

त्यसका निम्ति चिनजान नै नभएपनि नजिकिएर चिया, पानी खुवाउनेदेखि घुमफिर गराएर डाँडा पाखाको जग्गा महँगोमा भिडाउँछन् । कतिपयलाई भने कमिशन खुवाइन्छ । भान्जा विदेशमा रहे मामालाई दलालहरुले कमिशन दिन्छन् । अनि कमिशन पाएपछि मामाले आफ्नै भान्जा फसाउँछ । नराम्रो जग्गालाई पनि राम्रो भन्दै किनिदिन्छ ।

उता, विदेशमा भएको भान्जाले भने मामाको विश्वासमा परेर जग्गा किन्छ । उसलाई के थाहा आफूलाई फसाइयो भनेर । उसले तब थाहा पाउँछ, जब नेपाल आएर त्यो जग्गा हेर्छ । यद्यपि, तबसम्म धेरै ढिलो भइसक्छ । भनिन्छ, बाघ पनि खानाको लोभमा पर्छ । हामी त झन् मानिस हौं । लोभलालच पर्नु स्वभाविक हो ।

हो, दलालीहरुले यसैको फाइदा उठाइरहेका छन् । आफन्तलाई कमिशन खुवाएर आफन्तबाटै आफन्तलाई ठग्न लगाएका छन् । मानिसहरुले पनि आफ्नो धर्म बिर्सिएर वा मानवता नै बिर्सिएर आफ्नालाई आफैं फसाइरहेका छन् । हुन त यहाँ हरेक क्षेत्रमा कमिशनको चलखेल हुने गरेको छ । रोचक कुरा चाँहि, कमिशनको लोभमा आफ्नाले नै आफ्नालाई फसाइरहेका छन् । बुढापाकाले भन्थे, शत्रु खोज्न घरबाहिर जानु पर्दैन ।

अहिले यो भनाई ठ्याक्कै व्यवहारमा लागू भएको देखिन्छ । किनकि अहिले ठगिन, लुटिन घरबाहिर जानै पर्दैन । घरभित्रकै काफी छन् ।
आफन्तको विश्वासमा पर्दा मानिसहरु नराम्ररी ठगिँदै छन् ।

कमिशनको लोभमा आफ्नै दाजुले भाई र आफ्नै बाउले छोराछोरीलाई ठगेको पनि पाइन्छ । हुन त देशै कमिशनमा चलेको छ । सरकारी कार्यालयमा कमिशनबिना कुनै काम हुँदैन ।

नेताहरुले कमिशनकै निम्ति देश बेचिसकेका छन् । व्यापारीहरुले पनि आफ्नो स्वार्थका निम्ति सर्वसाधारणको ज्यानै खतरामा पारेर गुणस्तरहीन सामान बेचिरहेका छन् ।

कमिशनको लोभमा मानिसहरुले आफ्नालाई त छोडेनन् भने कर्मचारी, नेता र व्यापारीहरुले पनि सोही काम गर्नु कुनै नौलो भएन । भनिन्छ, लोभले लाप, लापले विलाप । यसरी नै अहिले कमिशनका निम्ति आफ्नालाई ठगेकाहरुले भविष्यमा यसको परिमाण भोग्नै पर्नेछ । किनकि आफन्त भनेको मर्दापर्दा काम लाग्छ । दलाली त सुखमा सँगै हुन्छ, दुखमा भाग्छ ।

त्यसैले, अब आफ्नालाई ठग्न बन्द गरौं । सँगै मानिसहरु पनि छिट्टै विश्वासमा पर्नुहुँदैन । विशेष गरी विदेशमा रहेका हाम्रा दाजुभाई, दिदीबहिनी, आमाबुबाहरु । विदेशमा रगतपसिना बगाएर कमाएको पैसा आफन्तको विश्वासमा परेर घरजग्गामा लगानी नगरौं । लगानी गर्नै परे आफैं स्वदेश आई राम्ररी हेरेर गरौं ।