नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृहसचिव गोकर्णमणि दुवाडीले गृह मन्त्रालयमा आयोजित एक समारोहमा थापालाई आईजीपीको फुली लगाइदिएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको थियो । यो सँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख रहेका थापा प्रहरीको ३१ औं आईजीपी बन्न सफल भएका हुन् ।

यसअघि नेपाल पप्रहरीको ३०औं आईजीपी वसन्त कुँवर थिए। उनी सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएसँगै थापा ३१ औं आईजीपी बनेका हुन्।

आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए । प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए।