एएफसी एशियन कप: राष्ट्रिय फुटबल टोलीको बिदाई
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले सिंगापुरसँग हुने मैत्रीपूर्ण फुटबल र एएफसी कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन्।
नेपालले आगामी मार्च २१ गतेदेखि मैत्रीपूर्ण खेल र त्यसपछि मार्च २५ मा मलेशियासँग एएफसी एशियन कप क्वालिफायर खेल्दै छ।
त्यसका लागि बिदाइको अवसरमा नेपालका कप्तान तथा गोलकिपर किरणले अवे खेल हुने भएकाले केही असहज हुने भए पनि उत्कृष्ट प्रदर्शन गर्ने बताए।
उनले अहिले नै यो गर्छौं र उ गर्छौं भन्नुभन्दा पनि राम्रो खेल्ने उल्लेख गर्दै आफ्नो टोलीमा धेरै अनुभवी खेलाडी नभए पनि क्षमतावान खेलाडी रहेको बताएका छन्। उनले टोली सन्तुलित रहेको र चोटबाट अनुभवी खेलाडी रोहित चन्द फर्कनु सुखद पक्ष रहेको बताए।
समग्रमा आफ्ना टोली सन्तुलित रहेकाले राम्रो नतिजाको आशामा उनी छन्। छोटो तयारीका बाबजुद सिंगापुरसँगको मैत्रीपूर्ण खेल छनोटका लागि राम्रो अभ्यास हुने उनको विश्वास छ।
कप्तान किरणले नयाँ प्रशिक्षकको प्रशिक्षणमा धेरै राम्रो परिवर्तन हुने बताएका छन्। साफअगाडि लगातार खेल हुनु टोलीका लागि सुखद पक्ष रहेको उनी बताउँछन्।
नेपाली टोलीका प्रशिक्षक म्याट रसले टोलीमा धेरै क्षमतावान खेलाडी रहेकाले खेलका लागि उत्साहित रहेका बताए। टोलीमा अनुशासित र शतप्रतिशत कमिटमेन्ट दिने खेलाडी रहेकाले पनि आफू राम्रो नतिजाको आशामा रहेको उनको विश्वास छ।
३० दिनसम्म खेलाडीसँग प्रशिक्षणमा रहेपछि राम्रो खेलाडी छनोट गरेको उनको भनाइ छ। टेक्निकली राम्रा खेलाडी रहेको यो युवा टोलीबाट सकारात्मक नतिजाको अपेक्षामा आफू रहेको उनले बताए।
आज (मंगलवार) नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले बिदाइ गरे।