सत्तामा पुग्न असैद्धान्तिक गठबन्धन गर्ने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासमा समस्या: सांसद शर्मा
काठमाडौं।नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक दलहरू गणतन्त्र र जनताको जनजीविकामा सुधार गर्नुभन्दा सत्तामोह र अवसर पाउँदा असैद्धान्तिक गठबन्धन गर्ने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा समस्या आएको बताएका छन्।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन्। उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएका कारण राजतन्त्र फर्किने कल्पना नगर्न समेत चेतावनी दिए।
आफूलाई राजतन्त्र फर्किने डर नभई आफ्ना कमी कमजोरी सच्याउन सक्छौं कि सक्दैनौं भन्ने डर रहेको बताए।
उनले संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा जन आवश्यकतानुसार कानून बनाउन नसक्नु कसको दोष हो भन्दै प्रश्न गरे।
शर्माले भने, ‘हामीले संविधान निर्माण भए पनि मुलुकको अवस्था सुधार्न दत्तचित्त भएर लाग्नुपर्थ्यो।
गणतन्त्र र जनताको जनजीविकामा सुधार गर्नुभन्दा पनि पार्टीहरुबीच र नेतहरूबीच कुर्सीको छिनाझप्टी, सत्तामोह, एकअर्काप्रतिका गाली गलौच र लाञ्छना र अवसर पाउँदा सबै असैद्धान्तिक गठबन्धनमा सामेल हुने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा केही समस्या र अविश्वास पैदा भएका हुन्।
प्रदेशलाई प्रभावकारी र स्थानीय तहलाई बलियो नबनाउने समस्याको पछाडि केन्द्रीकृत मानसिकताको गल्ती हो भन्ने स्विकार्न गल्ती गर्न नहुने उनको भनाइ छ।