राजावादीको प्रदर्शनलाई महत्व दिन आवश्यक छैनः अध्यक्ष भट्टराई
काठमाडौं । नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजावादीको प्रदर्शनलाई महत्व दिन आवश्यक नभएको टिप्पणी गरेका छन् ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्दै माइतीघरमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै उनले जनताले फ्याँकिसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छोटे राजाको संज्ञा दिएका छन् ।
उनले भने, तीनटा टाउको अहिले देखिएका छन्, तिनीहरुले आफूलाई छोटे राजाको रुपमा पनि देखाउँछन् । संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएका छन् । त्यो तीनटा टाउकोले पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिन्छन् ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको भन्दै दुई छिमेकीले पनि सुँड घुसारेर कहिले कसलाई कहिले कसलाई उचालिरहेको टिप्पणी गरेका छन् ।
नेसपा नयाँ शक्तिले बुधबार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रदर्शन गरेको छ। ‘राजनीतिक अस्थिरताको ओखती, प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ नाराका साथ राजधानीको माइतीघरमा प्रदर्शन गरिएको हो। सो क्रममा पार्टीले राजतन्त्र फेरि फर्कन नसक्ने भन्दै ‘हामी नागरिक हौं रैती हैनौं’ भन्ने नारा अंकित प्लेकार्ड समेत प्रदर्शन गरेको थियो ।
प्रदर्शनकारीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने माग गरे। यस्तै राजालाई सत्ताबाट हटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अभ्यास भएको सडक नाटक समेत प्रदर्शन गरिएको थियो।