नेकपा (बहुमत)ले गर्‍यो सरकार विरोधी दस्ता घोषणा

काठमाडौं। नेकपा (बहुमत)को काठमाडौँ जिल्ला समितिले भ्रष्टाचार,वित्तीय शोषण र मानव बेचबिखन विरोधी दस्ता घोषणा गरेको छ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान सरकार सबै किसिमका बेथितिको संरक्षक भएकोले आफूहरूले सरकारको विरुद्धमा संघर्ष छेड्ने उद्घोष गरेको हो।

पत्रकार सम्मेलनमा काठमाडौँ जिल्ला इन्चार्ज सागर लिम्बुले वर्तमान सरकारले तमाम बेथितिविरुद्ध कदम चाल्नु पर्नेमा उल्टै संरक्षण गरेको आरोप लगाए। लिम्बुले त्यसतर्फ कसैले पनि ध्यान नदिएको बताउँदै भने,केही दिनमै दस्ता भ्रष्ट तथा दलाहरुविरुद्ध खनिने छ,जसको सुरुवात हामीले गर्नेछौँ।

जिल्ला सेक्रेटरी दर्शन कुमार नेपालीले देशको राजधानी काठमाडौँमै सबैखाले बेथितिको जड भएकोले आफूहरूले दस्ताको निर्माण गरेको जानकारी दिए।

सेक्रेटरी नेपालीले देशमा मौलाउँदै गइरहेको भ्रष्टाचार,वित्तीय शोषण,कालोबजारी,मानव बेचबिखन,सामाजिक असमानता,प्राकृतिक स्रोतसाधन माथिको व्यक्तिगत नियन्त्रण र अस्थिरता जस्ता विषयमा न्यायका पक्षधरहरूलाई एकताबद्ध गर्न सचेतपूर्ण संघर्ष र पहलकदमीको आवश्यकता रहेको बताए।