यूएईमा हरेक महिना २६ नेपाली कामदारको मृत्यु

काठमाडौं। आठ महिनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा २०९ नेपालीले ज्यान गुमाएका छन्। यूएईस्थित नेपाली दूतावासले गत साउनदेखि फागुनसम्ममा २०९ जना नेपालीको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको हो।
गत वर्ष यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए। यो भनेको मासिक औसत १९.२५ हो।गत आर्थिक वर्ष २०८०/८१ का १२ महिनामा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाउँदा यस वर्ष ८ महिनामै २०९ जना पुगेको छ।
यस तथ्यांकको आधारमा औसतमा प्रत्येक महिना २६ जना नेपालीले यूएईमा ज्यान गुमाइरहेको देखिन्छ। सडक दुर्घटना, हृदयघात, अन्य बिरामी,कार्यस्थलमा हुने दुर्घटनाका कारण नेपालीले ज्यान गुमाइरहेको दूतावासले बताएको छ।