यी तीनवटा अस्पतालमा स्ट्रोकको औषधि निःशुल्क पाइने
काठमाडौं। सरकारले निःशुल्क वितरण गर्ने भनेको पक्षघात (स्ट्रोक)का विरामीको उपचारमा प्रयोग हुने ‘थ्रोम्बोलाइटिक ड्रग्स’ औषधि अस्पतालमा पठाउन थालिएको छ।
अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफको सहयोगमा नेपालमा आइपुगे उक्त औषधि शुरुमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र चितवनस्थित भरतपुर अस्पतालबाट वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
औषधि वितरणबारे जानकारी दिन आज मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीले भने सुरुमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधि उपलब्ध गराइनेछ। अन्य अस्पतालमा योजना बनाएर भविष्यमा दिन थालिनेछ।
यो औषधिको बजार मूल्य झण्डै दुई लाख पर्छ तर आर्थिक अभावमा महँगो औषधि खर्च गर्न नसकेका कारण नेपालमा मानिसको ज्यान जाने तथा अपांगताको समस्या देखिने गरेको छ।
रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ।
मन्त्रालयसँग च्यारिटीले नेपालको मागका आधारमा पाँच वर्षसम्मका लागि यस्तो औषधि सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ।
सहयोगी संस्था डाइरेक्ट रिलिफका तर्फबाट प्राप्त औषधी वन हार्ट वर्ल्डवाइडका प्रतिनिधिले बिहीबार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेका छन्।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधि सहयोग प्राप्त गरेर उपलब्ध गराइन लागिएको समेत बताए।
निकै महँगो औषधि किनेर दिन गाह्रो परेको थियो,कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौं। अहिले औषधि उपलब्ध भएको छ उनले भने।
मन्त्री पौडेलले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन ठाउँमार्फत औषधि उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने बताए। मन्त्रालयले तीनवटा संघीय अस्पतालमार्फत ती औषधि उपलब्ध गराउनेछ।