कसैले हा हा हु हु गर्दैमा लोकतन्त्र मासिँदैन: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले हा हा हु हु गर्दैमा लोकतन्त्र नमासिने बताएका छन्। बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ अहिलेको व्यवस्थामा आएकाले अन्य देशको जस्तो व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गरे। लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो रहेको उनको भनाइ छ।

अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रूपमा सुदृढ गर्ने भन्ने रहेको बताए। उनले लोकतन्त्र मासिने कुरा हुन नसक्ने जिकिर गरे।

प्रधानमन्त्री ओलीले भने,हामी डेमोक्रेटिक सिस्टममा छौँ। यसमाथि धावा बोल्नेरु एयरपोर्टदेखि महाराजगञ्जसम्म त खुला उद्घोषका साथ मान्छेहरूले मार्च गरेको देखियो। केही मान्छेलाई भ्रम छ,नेपालमा पनि अरू केही देशमा जस्तै हाहा हुहु गरेको भरमा उथलपुथल हुन्छ भन्ने। लोकतन्त्र मासिने कुरा हुन सक्दैन।

प्रधानमन्त्री ओलीले स्थानीय तहलाई स्वच्छ बनाउने कुरामा आफू लागिपरेको बताउनु भयो। उनले जनताले सिंहदरबारको सरकार गाउँ गाउँमा मात्रै पुग्यो र सिंहदरबारका भ्रष्टाचार पनि गाउँमा पुगेको भन्दै टिप्पणी गर्ने गरेको बताए।

सिंहदरबार भ्रष्ट नरहेको दाबी गर्दै सिंहदरबारमा बसेर देशको नेतृत्व गर्ने आफूले सधैँ भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने गरेको बताए। उनले भ्रष्टाचार मुक्त सुशासन, भ्रष्टाचार अन्त्य गर्ने र जनतालाई सेवामा छिटो छरितो सेवा दिने काममा आफूहरू लागेको बताए।