प्रहरीमा पहिलोपटक स्टाफ कोर्सको परीक्षा,स्टाफ कोर्स नगरे डीआईजी बन्न नपाइने
काठमाडौं। नेपाल प्रहरीमा पहिलोपटक स्टाफ कोर्सको प्रवेश परीक्षा सुरु भएको छ। बिहीबार २०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएर प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भइसकेका र इन्सपेक्टरमै रहेका गरी १३० जना परीक्षामा सहभागी भएका छन्।
पहिलो दिन त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले तयार गरेका व्यवस्थापन विषयमा परीक्षा सञ्चालन भएको स्टाफ कलेजका निर्देशक प्रहरी नायब महानिरीक्षक (डिआईजी) मनोजकुमार केसीले बताए।
अब शुक्रबार, शनिबार र आइतबार प्रहरीको स्टाफ कलेजले नै तयार गरेका विषयमा परीक्षा सञ्चालन हुने बताइएको छ। परीक्षामा अब प्रहरीसँग सम्बन्धित विषयवस्तु मात्रै हुनेछन्। तर,परीक्षामा भने त्रिविका अधिकारीहरू पनि सहभागी हुनेछन्।
परीक्षामा सहभागी हुनका लागि प्रहरी निरीक्षकमा भर्ना भएको १० वर्ष पूरा हुनु पर्ने प्रस्तावित विधेयकमा व्यवस्था छ। २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको टोलीबाट पहिलोपटक नेपाल प्रहरीमा स्टाफ कलेजको सुरुवात भएको हो।
स्टाफ कलेज अध्ययन गर्नका लागि चारवटै प्रश्नपत्रमा उत्तीर्ण हुनुपर्ने छ। अन्तिम नतिजा भने चारवटै प्रश्नपत्रको परीक्षापछि मात्रै प्रकाशन हुनेछ।चारवटै विषयमा उत्तीर्ण मध्येबाट बढी अंक ल्याउने ३५ जना स्टाफ कोर्सका लागि छनोट हुनेछन् भने ५ जनालाई वैकल्पिक सूचीमा राखिनेछ।
छनोट भएका ३५ जनामा कोही सहभागी हुन नसकेमा वैकल्पिक सूचीबाट सहभागी गराइनेछ। हरेक प्रश्नपत्र १०० पूर्णांकका हुनेछन् र कम्तीमा ४० अंक ल्याउनुपर्नेछ।
अब स्टाफ कलेज पास नगर्नेहरू प्रहरी नायब महानिरीक्षक (डीआईजी) बन्न पाउने छैनन्। एसपी र एसएसपीमा पनि स्टाफ कलेज गरेका र नगरेकाको लागि छुट्टै कोटा तोकिएको छ।
स्टाफ कलेज गरेका ६० प्रतिशत र नगरेका ४० प्रतिशत डीएसपी एसपीमा बढुवा हुनेछन्। तर एसपीबाट एसएसपीमा बढुवा हुँदा स्टाफ कलेज नगर्नेका लागि कोटा कम हुनेछ। स्टाफ कलेज पास नगर्ने २० प्रतिशत एसपी मात्रै एसएसपीमा बढुवा हुनेछन्। तर एसएसपीबाट डीआईजी बन्ने ढोका भने स्टाफ कलेज नगर्नेहरूका लागि बन्द हुनेछ।
स्टाफ कलेजको प्रवेश परीक्षा तीन पटकसम्म दिन पाउनेछन्। तीन पटकमा पनि उत्तीर्ण हुन नसक्नेहरू स्टाफ कलेज पढ्नका लागि अयोग्य हुनेछन् र डीआईजी बन्ने सम्भावना पनि समाप्त हुने छ।