एसईई: ह्वाट्स एपमार्फत चिट चोराउने २ निरीक्षक पक्राउ

काठमाडौं । बारामा एसईई परीक्षामा चिट चोराउने दुई जना निरीक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा कलैयाको पन्नादेवी कन्या मावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रुपमा खटिएका सौरभ छन्।

साथी’ नामक ह्वाट्स एप ग्रुपमार्फत् परीक्षार्थीलाई चिट चोराइरहेका बेला उनीहरु रंगेहात पक्राउ परेका हुन्। रञ्जु र सौरभले गल्ती स्वीकार गरेको र हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार ‘साथी’ नामको ह्वाट्सएप ग्रुपमा निरीक्षकले प्रश्नपत्रको फोटो खिचेर राखिदिने र उत्तर प्राप्त भएपछि परीक्षार्थीलाई सार्न दिने गरेका थिए।

आज ह्वाट्सएपमा प्रश्नको उत्तर आएको तर परीक्षार्थीसम्म पुग्न नपाउँदै मोबाइलसहित उनीहरुलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए। ह्वाट्सएप ग्रुपमा प्राप्त हुने उत्तर शिक्षक रञ्जु कुमारीले सोही सेन्टरबाट एसईई परीक्षा दिइरहेकी आफ्नी छोरीलाई सार्न दिने गरेको पाइएको छ।