गाउँपालिका अध्यक्ष र बजरंगी बाबालाई कारबाही गर्न सांसदहरूको माग
काठमाडौं । सांसदहरुले महायज्ञको नाममा दलित परिवारको उठिवास लगाइएको घटनामा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
आज बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले उक्त घटना जातीय विभेद र छुवाछुतको प्रमुख नमुना भएको भन्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
महायज्ञ गर्न आएका बजरंगी बाबाको निर्देशनमा सिरहाको ओरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर दिपक मरिक (डोम)को घर भत्काएर उठीबास लगाएका थिए।
नेकपा एकीकृत समाजवादीकी सांसद गोमादेवी तिमिल्सिनाले उक्त विभेदको घटनाको नेतृत्व गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग गरे ।
‘सिरहामा महायज्ञ लगाउने नाउँमा दलितलाई देखिन्छ रे भनेर जनता आवासअन्तर्गत बनेको घर गाउँपालिका अध्यक्षको नेतृत्वमा पालिकाकै डोजरले दलितको भत्काएर उठिवास लगाइएको छ,’ उनले भने, ‘अध्यक्षलगायत सबैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गरोस्।
त्यस्तै नेकपा एकीकृत समाजवादीकै सांसद जयन्तीदेवी राईले पनि उक्त घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरिन्।
उनले भनिन्, ‘सिराहामा विष्णु महायज्ञको नाममा गाउँपालिका अध्यक्षद्वारा दलितको घर भत्काइएको छ। यो घटनाको सरकारले तुरुन्त छानविन गरोस्।
राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले समेत उक्त घटना निन्दनीय भएको भन्दै छानविन गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरे।
समाजमा विद्यमान जातीय छुवाछुत अन्त्यका लागि सबैले एकजुट हुन जरुरी रहेको उनले बताए। बैठकमा बोल्ने प्रायः सबै सांसदहरूले उक्त घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरे।