काठमाडौं जिल्ला अदालतको निर्णयविरूद्ध उच्च अदालत पाटनमा रविकाे निवेदन दर्ता

काठमाडौं । काठमाडौं जिल्ला अदालतको निर्णयविरूद्ध रास्वपा सभापति रवि लामिछानेले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन् । शुक्रबार उच्च अदालत पाटन पुगेर उनले काठमाडौं जिल्ला अदालतको ६० लाख धरौटी माग्ने निर्णय बदरको माग गर्दै निवेदन दिएका हुन् ।

गत माघ २ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका थिए । आदेशअनुसार लामिछानेले धरौटी बुझाएर छाडेका थिए । त्यसविरूद्ध लामिछाने शुक्रबार उच्च अदालत पाटनमा पुगेका हुन् ।

यही कसुरमा उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि लामिछानेसहित सहकारीकी सदस्य सुनिता नेवा, कमल लामा र छविलाल जोशीलाई थुनामै राख्न माग राखेर निवेदन दर्ता गरिसकेको छ।

जिल्ला अदालतले छविलालसँग ५० लाख रुपैयाँ, सुनितासँग ४ लाख रुपैयाँ र कमलसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

लामिछानेले कास्की र रूपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन् । कास्की अदालतले ६५ लाख र रूपन्देही अदालतले एक करोड धरौटी माग गरेको थियो ।