कुलमानलाई ‘गलत’ देखाउन खोज्दा आफैँ ‘नङ्गिए’ ऊर्जामन्त्री खड्का
काठमाडौं । सरकार र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच लामो समयदेखि टसल चलिरहेकाे छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले गत असारमा मन्त्रालयको बागडोर सम्हालेदेखि नै उनीहरूबिच टसल चल्दै आएको छ।
मन्त्री खड्का जसरी भएपनि कुलमानलाई प्राधिकरणबाट हटाउन लागिपरेका छन् भने लोकप्रियताको आँडमा कुलमानले पनि सरकारसँग सिँगौरी खेल्दै आएका छन् । कुलमानलाई हटाउने प्रस्ताव फागुनको पहिलो सातै ऊर्जामन्त्री खड्काले मन्त्रिपरिषद्मा लगेका थिए ।
आफूलाई हटाउने प्रस्ताव मन्त्रीपरिषद्मै पुगेपछि फागुन १० मा तय भएको भारत भ्रमण समेत कुलमानले रद्द गरेका थिए । मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेर फागुनमै कुलमानलाई प्राधिकरणबाट हटाउने तयारी थियो । तर, त्यसको चौतर्फी आलोचना र विरोध भयो ।
सत्तारुढ दल काँग्रेसकै नेताहरूले समेत कुमानलाई तत्काल हटाउनु नहुने मत राखेपछि सरकार पर्ख र हेरको अवस्थामा पुग्यो । यही बेला राजावादीहरू व्यवस्था नै परिवर्तन गर्ने र राजा ल्याएरै छाड्ने उद्घोषसहित सडकमा उत्रिए । यही बेला कुलमानलाई हटाए राजावादीको आन्दोलनमा घिउ थपिने भएपछि उनलाई हटाउने निर्णय गर्नेबाट सरकार पछि हट्न बाध्य भयो ।
हटाउने नियतले मन्त्री खड्काले कुलमानलाई बारम्बार स्पष्टीकरण सोधिसकेका छन् । त्यति मात्रै होइन प्राधिकरणकै कार्यलयमा आफ्नो कार्यकक्ष बनाउनुको साथै कुलमानलाई कार्यसम्पादनमा शून्य अंक समेत दिएका छन् ।
अनेक प्रयास गर्दा पनि हटाउन सम्भव नभएपछि उर्जामन्त्री खड्का कुलमानलाई बदनाम गर्न लागिपरेका छन् । त्यसैले मन्त्री खड्काले नेपालको १८ घण्टासम्मको लोडसेडिङ कुलमानले नभई भारतले गर्दा हटेको दाबी बारम्बार गर्दै आएका छन् ।
उनले बारम्बार भन्ने गरेका छन्– ‘नेपालको लोडसेडिङ अन्त्य भारतले गरेको हो । उज्यालोका नायक कुलमान घिसिङ होइन है । बरू धन्यवाद भारतलाई दिऊँ ।’
त्यति मात्रै नभई मन्त्री खड्काले अहिले पनि लोडसेडिङ भइरहेको जिकिर र फेरि नागरिकले लोडसेडिङ खेप्नुपर्ने अवस्था आएको दाबी गरिरहेका छन् ।
‘हिजो पनि लोडसेडिङ थियो, आज पनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ,’ ऊर्जामन्त्री खड्काले राष्ट्रिय सभामा सांसदहरूका प्रश्नका जवाफ दिँदै भने, ‘हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ । निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युत्ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ ।’
मन्त्री खड्काले लोडसेडिङ हुने जिकिर गरे पनि कुलमान भने लोडसेडिङ नहुने दाबी गरिरहेका छन् । लोडसेडिङ हुन लागेको भनी मन्त्रीले दिएको अभिव्यक्ति लगत्तै उनले लोडसेडिङ नहुने स्पष्ट पारेका छन् ।
विभागीय मन्त्रीका हैसियतमा ऊर्जामन्त्री खड्काको दायित्व देशमा लोडसेडिङ हुन नदिने प्रबन्ध गर्नुका साथै त्यसबारे नागरिकलाई आश्वस्त पार्नु हो । तर, कुलमानलाई बदमान गराउने नियतले आफ्नो दायित्व नै भुलेर मन्त्री खड्काले ‘घरघरमा लोडसेडिङ हुँदै छ’ भनेर गर्व गरिरहेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई गलत देखाउन मन्त्री खड्काले पावर एक्सचेन्ज कमिटी ९पिइसी० बैठकको समझदारी कार्यान्वयनमा समेत आनाकानी गरेका छन् ।
हिउँदका कारण खोलामा पानी कम भएपछि स्वदेशी विद्युत् उत्पादन घटेको छ भने अर्कोतिर भारतले दैनिक १२ घण्टा मात्रै विद्युत् दिन थालेको छ । चैत ३ गतेबाट भारतले पूर्वस्वीकृतिअनुसार रातिको समयमा विद्युत् दिन छोडेको छ ।त्यसैले दिउँसो भारतबाट धेरै आयात गरी नेपालको अर्धजलाशय र जलाशययुक्त आयोजना बन्द गरेर पानी जम्मा गर्ने र राति त्यही पानीबाट अधिकतम विद्युत् उत्पादन गर्ने प्राधिकरण अभ्यास गर्दै आएको छ ।
प्राधिकरण कसरी लोडसेडिङ अन्त्य गर्ने भनेर लागिपर्दा विभागीय मन्त्री भने औद्योगिक क्षेत्रमा मात्रै नभई सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने भन्दै हल्ला गरिरहेका छन् । अहिले विद्युत् अपुग भएपछि केही ठूला उद्योगमा कटौती गरिएपनि नागरिकका घरमा भने लोडसेडिङ भइसकेको छैन ।
कुलमानकै कुशल कार्य क्षमताको कारण नै नेपाली नागरिक लोडसेडिङको मारबाट मुक्त भएका हुन् । त्यही कार्यक्षमताको प्रशंसा गर्दै तत्कालीन सरकारले दोस्रो कार्यकालमा पनि घिसिङ प्राधिकरणको जिम्मेवारी सुम्पेको हो। तर, उनै कुमानलाई हटाउन र गलत देखाउन विभागीय मन्त्री नै लाग्दा ऊर्जामन्त्री खड्कामाथि मात्रै नभई ओली नेतृत्वकै सरकारको नियतमा प्रश्न उठेको छ।