झापामा १६ सय ३६ केजी गाँजासहित दुईजना पक्राउ
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले १६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीका अनुसार पक्राउपर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलाम माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गंगाबहादुर बस्नेत रहेका छन्। उनीहरू शुक्रबार साँझ पक्राउ परेका हुन्।
इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद भएको छ । पक्राउ परेकाहरुलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।