मानिसमा हराउँदै मानवता, एउटै घरमा घरधनी फाल्छन् खाना, डेराबहाल सुत्छन् भोकभोकै
रुषा थापा

धनी होस् या गरिब मानिस सबै एउटै हो । तर, पछिल्लो समय मानिसमा मानवता हराउँदै गएको छ। देशमा बेरोजगारी छ। बजार व्यापक मन्दीमा छ। व्यापार व्यवसाय ठप्प छ । काम गरेको तलबबाट तलब दिइँदैन। यस्तो अवस्थामा विशेष गरी डेरामा बस्नेहरु मर्कामा परेका छन्। उनीहरुले आफैं भोकै बसेर ऋण लिएर भएपनि घरधनीलाई भाडा तिरिरहेका छन्।
दुःखलाग्दो कुरा, घरधनीहरुमा मानवता हराएको छ । आफ्नो घरमा बस्नेहरु भोकभोकै सुतिरहँदा घरधनीहरु चाँहि कुकरका कुकर खाना फ्याल्छन् । बरु त्यहँी खाना डेराबहाललाई दिए कति धर्म हुन्थ्यो होला । डेराबहालहरुको पनि त पेट भर्थ्र्यो नि । विडम्बना, अहिले मानिसमा मानवता हराइसकेको छ। आफ्नो पेट भरे मात्र पुग्छ । अरुले के खायो कि खाएन ? खाना नभएर भोकै पो सुत्यो कि ? भनेर मानिसलाई सोच्नेसमेत फुर्सद छैन।
सहकारी, लघुवित्त र फाइनान्सका कारण करोडौं सर्वसाधारण डुबेको सबैलाई थाहै छ । खासगरी डेरामा बस्नेहरुले सहकारीमा बचत गरेका थिए । आपतविपत पर्दा काम लाग्छ र थोरै भएपनि ब्याज आउने प्रलोभनमा आफूसँग भएको सबै रकम सहकारीमा जम्मा गरे। अहिले सहकारी भाग्यो । रोजगारी पनि गुम्यो । काम भएपनि साहुले तलब दिएको छैन । घरमा अन्नको दान छैन । रोगले शरीर थलिँदै गएको छ ।
कतिपय अस्पतालको बेडमा उपचारको निम्ति खट्पट्याइरहेका छन् । पैसा भएपनि उनीहरुले उपचार गर्न पाएका छैन । मानिसहरुको कन्तबिजोग भएको छ । कतिपयले त सहन नसकेर आत्महत्या पनि गरेका छन् । कतिपय चाँहि जेनतेन गुजारा चलाइरहेका छन् । अहिले काठमाडौं उपत्यकाभित्र होस् या बाहिरी जिल्लामा भाडामा बस्नेहरु पीडामा छन् । आफ्नो दुःख, पीडा लुकाएर उनीहरु हिँडेका छन् ।
अधिकांश भोकभोकै हिँड्ने र सुत्ने गरेको बताइन्छ । घरधनीलाई त भाडा तिर्नैपर्यो । त्यसका लागि उनीहरुले आफन्त वा मीटरब्याजमा ऋणसमेत लिएका छन् । त्यहँी ऋणले भाडा तिरिरहेका छन् भने आफू चाँहि केही नखाई बस्छन् । यता, डेराबहालको समस्या घरधनीहरुले देख्दैनन् । उनीहरुलाई त महिना मर्नेबित्तिकै भाडा चाहिन्छ नै । भाडा दिएपनि सुख पाइँदैन । घरधनीले भनेजस्तो गरेमा मात्र बस्न पाइन्छ । नत्र कति खेर सरेर जा भनिहाल्छन् ।
घरधनीहरु आफ्नो मात्रै फाइदा हेर्छन् । भाडा दिन एक दिन ढिलो भएमा डेराबहालको कोठामै आएर कराउँछन् । तर, डेराबहाल बिरामी हुँदा चाँहि कोठामा आउनु त परेको कुरा हो, चासोसमेत दिँदैनन् । डेराबहाल मरेपनि उनीहरुको भाडा चाँहि रोकिनु हुँदैन । हुन त डेराबहालहरुले मर्ने बेला पनि सुख पाउँदैनन् । घरधनीहरु आफ्नो घरमा डेराबहाललाई मर्न दिँदैनन् । डेराबहालको अवस्था गम्भीर देखिएमा सहयोग गर्नुको साटो विभिन्न बहाना बनाएर कोठाबाटै बाहिर निकालदिन्छन् । यसबाट अधिकांश मानिस पीडा भएको पाइन्छ ।
घरधनीहरुको एउटै उद्धेश्य हुन्छ, जतिसक्दो ठग्ने, लुट्ने । डेराबहाललाई त यिनीहरुले बढी भाडा असुलेर र नदिएको सेवासुविधाको पनि चर्को पैसा असुल्छन् । तर, राज्यलाई समेत ठग्दै आएका छन् । एउटै व्यक्तिको दर्जनौं घर छ । घर भाडामा लगाएर मासिक लाखदेखि करोडौं रकम उठाउँछन् । अनि राज्यलाई तिर्नुपर्ने घरबहाल कर चाँहि छल्छन् । अधिकांश घरधनीहरुले त यसका लागि पनि डेराबहालकै प्रयोग गर्ने गरेका छन् ।
डेराबहालसँग मासिक एउटा कोठाको २० हजार असुल्छन् । वडा कार्यालयमा चाँहि दुई हजार भन्न लगाउँछन् । कतिपय घरधनीहरु आफ्नो घर वर्षौदेखि खाली रहेको वा आफन्त सित्तैमा बसिरहेको झुठ बोल्छन् । फेरि वडाबाट अनुगमनका निम्ति कर्मचारी पनि नआउने भएकाले उनीहरुलाई फाइदा पुगिरहेको छ । विद्यार्थी, अपांग, जेठ नागरिक, एकल महिला र तल्लो जातिलाई घरधनीहरुले कोठा नै दिँदैनन् ।
गाउँमा सेवासुविधा नभएपछि मानिसहरु शहर पसेका छन् । शहरमा आफ्नो घर हुँदैन । त्यसैले, भाडामा बस्न मानिसहरु बाध्य हुन्छन्। अहिले काठमाडौं उपत्यका होस् या बाहिरी जिल्लाका शहरमा भाडामा बस्नेहरु अधिकांश गाउँका मानिस छन्।
गाउँदेखि आएर उनीहरु भाडामा बस्नुको कारण शिक्षा, स्वास्थ्य, रोजगारी र सेवासुविधा हो । शहरमा भाडामा बसेपनि उनीहरुको गाउँमा रोपनीका रोपनी वा विघा जमिन हुन्छ। अधिकांशको गाउँमा घरै हुन्छ। तर, सरकारले त्यहाँ सेवासुविधा नपुर्याउँदा गाउँका मानिसहरु शहरमा आएर चर्को पैसामा भाडामा बस्नुपरेको छ।
अधिकांश घरधनीहरु आफ्नो घरमा भाडामा बस्नेलाई सुकुम्बासी भन्छन् । दासीजस्तै व्यवहार गर्छन् । घरधनीहरुको शहरमा दुई–चार आना जग्गामा घर हुन्छ । डेराबहालको त गाउँमा घरसँगै रोपनीका रोपनी जग्गा हुन्छ । अब भनौं को हो सुकुम्बासी ? चार आना जग्गामा शहरमा घर ठडएर मै हुँ भन्ठान्ने प्रवृत्ति मौलाउँदै छ । घरधनीहरु एउटै कोठाको मासिक भाडा पाँच हजारदेखि २० हजारसम्म असुल्छन् ।
जबकी कोठा चाँहि दिउँसै बत्ती बाल्नुपर्ने अध्यारो र चिसो हुन्छ । एउटा सानो सटरको २० हजारदेखि १९ लाख रुपैयाँसम्म भाडा असुलिन्छ । एक फ्ल्याटको ३० हजारदेखि तीन लाख रुपैयाँसम्म मासिक भाडा लिइन्छ भने खाली सटर २० लाखदेखि ६० लाखसम्ममा किनबेच गरिन्छ ।
घरधनीहरुको ठगीधन्दा र अत्याचार बढ्दै छ । विडम्बना, सरोकारवाला निकायले पनि उनीहरुकै साथ दिएका छन् । विगतमा अहिलेका राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसदहरु सबै भाडामै बसेका हुन् । भाडामा बस्दा डेराबहालले भोग्नुपर्ने दुःखकष्टबारे उनीहरु जानकार छन् । तर, सत्तामा पुगेपछि र महलजस्तो घरमा बस्न थालेपछि उनीहरुले यो कुरा बिर्सिए ।
मुलुकमा तीन तहको सरकार छ, संघ, प्रदेश र स्थानीय । दुर्भाग्य तीन वटा सरकार हुँदा पनि एउटा निर्णय हुन सकेन, त्यो हो घरभाडा निर्धारण। घरभाडा निर्धारण गरिएमा भोट घट्ने डर राजनीतिक दलहरुमा छ।
त्यसैले, उनीहरु घरधनीहरुको अत्याचार, ठगीधन्दाबारे केही बोल्दैनन् । देशमा थुप्रै पार्टी छन् । तर, एउटै पार्टी पनि घरधनीहरुको विरोधमा बोलेको पाइँदैन । किनकि घरधनीहरुसँग उनीहरुको स्वार्थ जोडिएको छ, त्यो हो भोटको ।
डेराबहाललाई घरधनीहरुले त मानिस नै ठादैँनन् तर सरकारले समेत उनीहरुलाई नेपाली ठानेन । सरकार जनताको अभिभावक हो । दुर्भाग्य, यहाँ त सरकार आफैं आफ्ना नागरिकबीच विभेद गरिरहेको छ।
सरकार नै असमानतामा लागेपछि कसको के लाग्छ । अहिले डेराबहालहरुले भाडा तिर्न सकिरहेका छन् । तिरुन पनि त कसरी व्यापार व्यवसाय ठप्प छ । बेरोजगारी छ । काम गरेको ठाउँबाट तलब पाइँदैन ।
यस्तो अवस्थामा घरधनीहरुले भाडा घटाइदिनुपर्ने हो । डेराबहाललाई राहत दिनुपर्ने हो । तर, घरधनीहरु लुट्न र ठग्नमै व्यस्त छन् । लुट्न पाएसम्म डेराबहाललाई आफ्नो घरमा राख्छन् अनि भाडा तिर्न नसकेपछि निकालदिन्छन्।
घरधनीको निम्ति डेराबहाल दुहुनो गाईझैं बनेका छन् । दुध दिइञ्जेल राम्रो, दुध सुकेपछि जंगलमा लगेर छोडिदिने । यसतर्फ राज्यको ध्यान जाओस् । घरधनीहरुको अत्याचार बन्द गरियोस् । सरकार अब आँखा खोल ।