गणतन्त्रको जग हल्लाउने पूर्वराजासँग के छ शक्ति? दलहरु किन गर्दैछन् मोर्चाबन्दी
काठमाडौं। गणतन्त्रवादी र राजावादी एकले अर्कालाई ठक्कर दिँदै यतिबेला सशक्त ढंगले अघि बढ्ने रणनीतिमा छन्। राजावादीहरु सक्रिय भएपछि तरंगित भएको एमालेले अब गाउँ–गाउँ पुगेर कार्यकर्तालाई गणतन्त्रबारे पाँठ पढाउने भएको छ।
उता राजावादीको सक्रियतापछि तराई मधेश जागरण अभियान नै स्थगित गरेर काठमाडौं फर्किएको माओवादी पुनः अभियानमा हिँडे पनि राजावादीविरुद्ध यही चैत १५ गते सशक्त रुपमा शक्ति प्रदर्शनको तयारीमा छ।
राजावादीविरुद्ध प्रर्दशनमा उत्रिन लागेका समाजवादी मोर्चाभित्रका दलहरुले आफूलाई सशक्त ढंगले तिखारी रहेका छन् । गणतन्त्रवादीहरुको यस रणनीतिले राजावादीले झनै स्थान पाउँदा थप हौसिने माहोल बनेको छ।राजवादीविरुद्ध कम्युनिष्टको एक स्वर भए पनि सत्तारुढ कांग्रेसले भने मौनता साँधिरहेको छ।
पूर्वराजाका गतिविधिका विषयमा कांग्रेसको पूर्वपदाधिकारी बैठकलेसमेत कुनै निष्कर्ष निकाल्न सकेन । उता विकल्प भनिएका दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टीले समेत राजाका विषयमा कित्ता क्लियर गर्न सकेका छैनन्।
यहीबीचमा जनमत पार्टीबाट प्रतिनिधित्व गरेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन्।
भारतले राजावादीलाई उचालेको शंकाकाबीच भएको यस भेटलाई अहिले अर्थपूर्ण रुपमा हेरिएको छ । गणतन्त्रवादीहरु राजावादीविरुद्ध सशक्त ढङगले अघि बढ्ने तयारी गरिरहँदा यता टुटफुट भएका राजावादीहरु एकजुट हुने प्रयासमा मात्रै छैनन्, राजा ल्याउन जस्तोसुकै त्याग गर्न पनि तयार देखिएका छन्।
त्यसो त गणतन्त्र पक्षधर दल र दलका नेताका कारण उत्पन्न निराशालाई समेत राजावादीहरुले मलजल गरेरै मुद्दा बनाइरहेका छन्। गएको फागुन २५ गते समर्थकको अपार साथ पाएपछि हौसिएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबारदेखि पुनः तिर्थयात्रामा निस्किएका छन्।
उनको सवारीमा भव्य स्वागत गर्न भन्दै रमा सिंह जस्ता कट्टर राजावादीले कार्यकर्तालाई उर्दी नै जारी गरिसकेका छन्। पूर्वराजा शाह गोरखा पुगेर गोरखनाथ र मनकामनाको दर्शन गर्दै फेरि चैतको अन्तिममा फागुन २५ कै स्वागतको झल्को दोहो¥याउँदै फेरि गणतन्त्रवादीलाई झट्का दिने गरी प्रस्तुत हुन सक्ने आकलन हुन थालेको छ।
व्यवस्थाविरुद्ध सशक्त बन्ने प्रयास गरिरहेका राजावादीहरुले उत्तम विकल्प सडक आन्दोलनलाई देखिरहेका छन्। जहाँ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाहीले सदन छाडेर आए मात्रै यो आन्दोलन थप सशक्त बन्ने राजावादीहरुको विश्वास छ।