थुनुवा र कैदीबन्दीको मानवअधिकार हनन हुँदैन: गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले हिरासतमा रहेका थुनुवा तथा कारागारमा रहेका कैदीबन्दीको मानवअधिकारको सुरक्षा सरकारले गर्ने बताएका छन्।
आइतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले थुनुवा र कैदीबन्दीको मानवअधिकार हनन हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
उनले थुनुवा तथा कैदीबन्दीहरूमाथि कुनै पनि मानवअधिकार हनन हुने कार्य सरकारले नगर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सीमित स्रोत साधनमा कैदीबन्दी तथा थुनुवाको व्यवस्थापन गर्नुपर्ने समस्या सरकारले उचित रूपले सम्बोधन गर्ने बताए।
उनले पछिल्लो समय नुवाकोटमा नयाँ कारागार निर्माण भएर सञ्चालनमा आएको बताए। देशभरका पुराना कारागारको भौतिक सुधारका लागि सरकारले पहल गरिरहेको उनको भनाइ छ।
मन्त्री लेखकले भने, ‘हिरासतको मानिस थुनुवा, कैदीबन्दीलाई कुनै अमानवीय र निर्मम व्यवहार गर्ने अथवा मानवअधिकारको हनन हुँदैन। त्यसको ग्यारेन्टी हामी गर्छौँ, सरकारले ग्यारेन्टी गर्छ।
कुनैपनि व्यक्तिको मानवअधिकार हनन गर्ने कुरा हुँदैन। हिरासतमा रहेका मानिस, कारागारमा थुनुवाका रूपमा रहेका वा कैदीबन्दीका रूपमा रहेका मानिसको मानवअधिकारको पूर्ण सुरक्षाका बारेमा हामी गम्भीर छौँ र सचेत छौँ।