त्रिविका प्राध्यापक चलाउनेलाई कुटपिट गर्ने नेविसंघका नेता रावल पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न योगेन्द्र रावल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको एसपी सुधिरराज शाहीले बताए। उनलाई पक्राउ गरेलगत्तै अदालत हाजिर गरेर डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
चलाउनेमाथि आक्रमण गर्नेहरुमाथि जिल्ला अदालतले गरेको २ वर्ष कैद सजायको फैसला उच्च अदालतले २२ माघमा सदर गरेको थियो।तर, क्षतिपूर्तिको रकम भने चार लाख रुपैयाँ घटाएको थियो।
काठमाडौं जिल्ला अदालतले ७ मंसिर २०८० मा चलाउनेलाई आक्रमणमा संलग्न योगेन्द्र रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुस भनिने सयुज श्रेष्ठलाई दोषी ठहर गरेको थियो।
ज्यान मार्ने उद्योगको कसुरमा अदालतले उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ अनुसार २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
रावल पनि फरार थिए। सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका हुन्। उनी आफूलाई त्रिवि नेविसंघको विद्यार्थी नेताका रुपमा चिनाउनेगर्थे।