ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता हुँदै

काठमाडौं । तीन ठूला दल नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज (सोमबार) बस्दैछ।प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज संयुक्त छलफल हुन लागेको हो। बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) बारे छलफल हुने बताइएको छ। यही चैत ६ गतेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधेको प्रश्नमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिएका थिए।

यो विषयमा प्रचण्डसँग सम्पर्क गर्न खोजिरहेको तर पटक–पटक प्रयास गर्दा सम्पर्क नभएको बताएका थिए। यसअघि टीआरसीको विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार खरेल खुमलटार पुगेका थिए।

त्यस्तै आजको बैठकमा उनीहरुबीच राप्रपा लगायत राजावादीहरुले बढाएको गतिविधि र गणतन्त्रवादी दलहरुको भूमिकाका विषयमा पनि छलफल हुने बताइएको छ।