यी चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं। सरकारले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना निकालेर एसडी कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आरएसए कन्स्ट्रक्सन काठमाडौंलाई कालो सूचीमा राखेको जनाएको हो।

जिल्ला समन्वय समिति बाराको सिफारिसमा एसडी कन्स्ट्रक्सनलाई एक वर्ष कालोसूचीमा राखिएको छ। एसडी कन्सक्ट्रक्सनका मुख्य व्यक्ति निरजकुमार मिश्र हुन्।

यसैगरी अरनिको निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। ओमप्रकाश श्रेष्ठ मुख्य व्यक्ति रहेको यो कम्पनीलाई कालोसूचीमा राख्न संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सालझुण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजना अर्घाखाँचीले सिफारिस गरेको थियो।

यसैगरी ​आरएसए कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ। रामशरण अधिकारी मुख्य व्यक्ति भएको कम्पनीलाई कालोसूचीमा राख्न नुवाकोटको पञ्चकन्या गाउँपालिकाले सिफारिस गरेको हो।

यसैगरी भोजपुरको पौवादुङ्मा गाउँपालिकाको सिफारिसमा मनकामना सप्लायर्सलाई एक र्ष कालोसूचीमा राखिएको छ। मनकामना सप्लायर्सका मुख्य व्यक्ति गोमा श्रेष्ठ हुन्।

निर्माणकार्यको जिम्मा लिने तर काम सन्तोषजनक नगर्ने कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्छ। कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन्।