माओवादीको जागरण अभियान पुनः स्थगित

काठमाडौं। नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस जागरण अभियान फेरि स्थगित भएको छ। गत फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान यसअघि फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो।
गत बिहीबारदेखि बाराबाटै पुनः सुरू भएको अभियान अहिले चितवन पुगेरसोमबारदेखि स्थगित भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
आचार्यका अनुसार माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौं विरोध सभा गर्दैछ। त्यसको तयारीका लागि जागरण अभियान केही दिनका लागि स्थगित गरिएको हो। उनले नेताहरू आजै काठमाडौं फर्कँदै गरेको बताए।
काठमाडौंको कार्यक्रम सकिएपछि माओवादीले बैठक गरेर पुनः अभियानलाई निरन्तरता दिने बताइएको छ। अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भएको माओवादीले जनाएको छ। अब गण्डक क्षेत्र हुँदै सुदूरपश्चिमसम्म अभियान अन्तर्गका कार्यक्रम हुनेछ।