लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
काठमाडौं। लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन्।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्रामसहित सोही नगरपालिका-९ बस्ने १९ वर्षीय अनुप बोहरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यसैगरी कैलाली, चुरे गाउँपालिका-३ बाट नियन्त्रित लागूऔषध टापेण्टाडोल ७० ट्याब्लेटसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका-२ बस्ने २७ वर्षीय गोपाल बहादुर सलामी र २० वर्षीय मिलन मास्के मगर रहेका छन्। इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१२ प ९७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
दाङ, घोराही उपमहानगरपालिका-१० झारबहिराबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम र मोबाइल १ थानसहित सोही ठाउँ बस्ने रोल्पा, रोल्पा नगरपालिका-२ घर भएका २४ वर्षीय आकाश डाँगीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ बुद्धचोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय १८ मिलिग्रामसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बसडिलवा बस्ने २४ वर्षीय कामरान खान, २५ वर्षीय सेफ अली र ओमसतिया गाउँपालिका-४ बस्ने २८ वर्षीय बिनोद चमार रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यसैगरी रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध स्पास्मो ५५ ट्याब्लेटसहित सोही नगरपालिका-३ पडरिया बस्ने १९ वर्षीय अफजल अलि भाटलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी पोष्ट महिलवारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
उदयपुर, त्रियुगा नगरपालिका-१ खैजनपुर बस्ने २२ वर्षीय सन्तोष चौधरीलाई लागूऔषध गाँजा २५ ग्राम र नियन्त्रित लागूऔषध डाईजेपाम ३ एम्पुल, बुप्रेनोर्फिन २ एम्पुल र फेनारगन २ एम्पुलसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
कञ्चनपुर, बेदकोट नगरपालिका-८ भासिबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अबिषेक डगौरा र सोही नगरपालिका-७ बस्ने २४ वर्षीय सुनिल डगौरा रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
झापा, गौरीगञ्ज गाउँपालिका-१ भन्सार चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५५ मिलिग्रामसहित भारत किसानगन्ज-२ पलसाह बस्ने २३ वर्षीय सलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।