भारतलाई ‘देखाइदिने’ र पूर्वराजालाई ‘थुन्ने’ ओलीको चेतावनीप्रति एमालेको यस्तो धारणा ?

काठमाडौं । एमालेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विवादस्पद अभिव्यक्तिको बचाउ गरेको छ ।

महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा आएको भारत र पुर्वराजा ज्ञानेन्द्र शाहलाई ओलीले दिएको चेतावनी सम्बन्धि समाचारको खण्डन गर्दै अध्यक्षको बचाउ गरेका हुन् । एमालेले सरकार भारतसँगको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउने पक्षमा रहेको समेत स्पष्ट पारेको छ ।

सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नभनेका कुरालाई समेत समावेश गरिएको भन्दै महासचिव पोखरेलले असन्तुष्टि जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले)को हालै सम्पन्न सचिवालय बैठकसँग जोडिएका विषयमा केही नेपाली र विदेशी सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। पूर्वराजावादीहरूको केही दिनअघिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले बोलेको भनिएका कुराहरू आधारहीन र अतिरञ्जित छन्।

ती समाचारले अनावश्यक सनसनी फैलाउने तथा नेपाल र भारतबीचको शताब्दीऔं पुरानो सम्बन्धमा शंका उत्पन्न गराउने नियत राखेका छन्।

महासचिव पोखरेलले थपे, ‘नेपालको संविधान र हामीले अंगीकार गरेको लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम निर्णय हो। कुनै पनि लोकतान्त्रिक मुलुक वा जनता लोकतन्त्रको सट्टा निरंकुशतन्त्रलाई समर्थन गर्न तयार हुँदैनन् भन्नेमा हामी प्रष्ट छौँ। इतिहासको पांग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै असफल बनाउँछन् भन्नेमा हामी ढुक्क छौँ।

केही सञ्चारमाध्यममा अध्यक्ष ओलीले आफ्नो सरकार परिवर्तन गर्न भारतको कूटनीतिक पहल भइरहेको भन्दै त्यसको जवाफ दिने चेतावनी दिएको उल्लेख गरेपछि उनको यो विज्ञप्ति आएको हो।

पोखरेलले भनेका छन्, ‘नेकपा (एमाले) र यसको नेतृत्वमा रहेको वर्तमान सरकार नेपाल९भारत सम्बन्धलाई थप मजबुत बनाउन, कुनै समस्या भए कूटनीतिक माध्यमबाट समाधान गर्न र बलियो विकास साझेदारी अघि बढाउन प्रतिबद्ध छ।

परराष्ट्र नीति र बाह्य सम्बन्धजस्ता संवेदनशील विषयमा कुनै समाचार वा टिप्पणी प्रकाशन गर्नुअघि पार्टीको आधिकारिक धारणा बुझ्न हामी सबै सञ्चारमाध्यमलाई आग्रह गर्दछौं।