समाजवादी गणतन्त्र नै स्वाधीन र समुन्नत नेपालको एकमात्र विकल्प: नेता हरिकृष्ण गजुरेल

काठमाडौं। देशलाई स्वाधीन, समुन्नत र आत्मनिर्भर बनाउने लक्ष्यलाई सफल बनाउन समाजवादी गणतन्त्र नै एकमात्र उचित विकल्प रहेको  नेकपाका सह-संयाेजक तथा अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष हरिकृष्ण गजुरेलले बताएका छन्। पछिल्ला राजनीतिक, आर्थिक र सामाजिक परिदृश्यलाई हेर्दा वर्तमान प्रणालीले समृद्धि र समानता कायम गर्न नसक्ने देखिएको भन्दै समाजवादी गणतन्त्रको आवश्यकता रहेकाे बताए।

 नेता गजुरेलले अबको नेपाल समाजवादी गणतन्त्रतर्फ जानु अपरिहार्य रहेको र समाजवादी गणतन्त्र नै मुलुकको स्वाधीनता,स्थायित्व र समृद्धिको आधार भएको दाबी गर्दै,संसदीय प्रणाली र पूँजीवादी अर्थतन्त्रले नेपाललाई असफल बनाइरहेको बताए।

 अहिले नेपालमा आर्थिक असमानता बढ्दै गएको,विकासको नाममा श्रमजिवी जनतालाई अझै शोषण गरिएको तथा विदेशी निर्भरता झन् गहिरिँदै गएको तर्क गरे। नेपालको भूराजनीतिक अवस्था र आर्थिक संरचनालाई हेर्दा समाजवादी मोडेलमा गएर मात्र मुलुकलाई स्वाधीन, आत्मनिर्भर र समुन्नत बनाउन सकिन्छ। अहिलेको संसदीय व्यवस्थाले न जनताको आशा पूरा गर्न सकेको छ, न देशको स्वाधीनता जोगाउन सक्ने अवस्थामा छ। त्यसैले अबको एकमात्र विकल्प समाजवादी गणतन्त्र नै भएकाे जिकिर गरे।

गजुरेलका अनुसार, नेपालमा गणतन्त्र आएको डेढ दशक बितिसक्दा पनि जनताले प्रत्यक्ष रूपमा उपलब्धि महसुस गर्न पाएका छैनन्। उनले शासन प्रणाली परिवर्तन मात्र पर्याप्त नहुने भन्दै प्रणालीको कार्यान्वयनमा कमजोरी आएमा त्यसले समाजलाई झन् अस्थिर बनाउने बताए।

समाजवादी गणतन्त्र किन आवश्यक ? 

नेता गजुरेलले वर्तमान संसदीय प्रणालीलाई असफल ठहर्‍याउँदै समाजवादी गणतन्त्रको अपरिहार्यता औंल्याए। उनले संसदीय व्यवस्थाले दलहरूलाई सत्ताकै वरिपरि घुमाउने, राजनीतिक अस्थिरता निम्त्याउने गरेको बताए। नेपालमा अहिले संसदीय प्रणाली छ, तर के यो प्रणाली सफल देखियो ? संसद सञ्चालन गर्नै नसक्ने, सरकार टिक्नै नसक्ने, नीति बनाउनै नसक्ने अवस्थाले देशलाई कहाँ पुर्याउँछ ? त्यसैले अब विकल्प खोज्नैपर्छ, त्यो विकल्प भनेको समाजवादी गणतन्त्र नै हो गजुरेलले भने।

उनले समाजवादी प्रणालीले मात्र राष्ट्रको सम्पदा माथिको जनताको स्वामित्व स्थापित गर्न सक्ने उल्लेख गरेका छन्।आज विकासको नाममा प्राकृतिक स्रोत-साधनको दोहन भइरहेको छ, श्रम शोषण भइरहेको छ। समाजवादी गणतन्त्रको मोडेलमा मात्र यी स्रोत-साधनहरू जनताको हितमा प्रयोग हुन्छन्, केही व्यक्तिको सम्पत्ति थुप्र्याउने माध्यम बन्दैनन्, उनले भने।

त्यस्तै गजुरेलले संसदीय प्रणालीका नेताहरू नै भ्रष्टाचार, कुशासन र अस्थिरताको जड भएको आरोप लगाए। उनले संसदीय दलहरू आन्तरिक खिचातानीमा फसिरहँदा जनताका समस्याहरू बेवास्ता गरिएको बताए। हामीले विगत १५ वर्षमा के देख्यौं ? पटक-पटक सरकार बदल्ने, संसद भंग गर्ने, नयाँ गठबन्धन बनाउने तर जनताको पक्षमा काम नगर्ने बताए। संसदीय दलहरूकै कमजोरीका कारण अहिले व्यवस्था प्रति नै जनतामा वितृष्णा बढ्दै गएकाे बताए। यसको अन्त्य समाजवादी शासन प्रणालीमा मात्र सम्भव छ,उनले तर्क गरे।

 संसदीय व्यवस्थाले गरिब र श्रमजीवी वर्गलाई झन् पछाडि धकेल्ने गरेको आरोप लगाए। नेपालमा संसदीय व्यवस्थाले उत्पादनका साधनहरू केही सीमित व्यक्तिहरूको हातमा केन्द्रित गरिदियो। जनता झन् गरिब हुँदै गए, श्रमजीवीहरू अवसरविहीन भए। यसको अन्त्य समाजवादी मोडेलमा मात्र सम्भव छ उनले भने।

 गजुरेलले समाजवादी गणतन्त्र नै नेपाललाई स्वाधीन बनाउने एकमात्र आधार भएको उल्लेख गरे। उनले नेपालको परनिर्भरता घटाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण नगरेसम्म मुलुकको स्वाधीनता धरापमा रहने बताए। आज नेपालको नीति निर्माणमा विदेशी हस्तक्षेप बढेको छ। हामी आफैंमा कमजोर भएकाले बाह्य शक्ति खेल्न सहज भएको हो। समाजवादी गणतन्त्रमा गएर मात्र हामी आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सक्छौं, राष्ट्रिय उत्पादन बढाउन सक्छौं र विदेशीसँग निर्भरता हटाउन सक्छौं उनले भने।

अहिलेको आर्थिक नीतिले नेपाललाई झन् विदेशी ऋणको दलदलमा फसाइरहेको आरोप लगाए। हामीले उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने,आत्मनिर्भर अर्थतन्त्र बनाउने नीति अपनाउनुपर्छ। तर हालको नीतिले के गरिरहेको छ ? विदेशी ऋण लिनु, ठूला परियोजना विदेशी लगानीमा बनाउनु र राष्ट्रको आर्थिक नीति अन्तर्राष्ट्रिय शक्तिहरूको नियन्त्रणमा दिनु। यसरी स्वाधीनता सम्भव नरहेकाे बताए। 

 नेता गजुरेलले राजनीतिक दलहरूलाई समाजवादी गणतन्त्रको आधार तयार पार्न स्पष्ट मार्गचित्र बनाउन आग्रह गरे। अब निर्णय गर्ने बेला आएको छ। हामी सधैंभरि संसदीय अस्थिरतामा अल्झिने कि समाजवादी प्रणाली अवलम्बन गरेर स्थायित्व र समुन्नतिका लागि अगाडि बढ्ने ? उनले प्रश्न गरे।

उनले वर्तमान सरकार र प्रमुख दलहरूलाई जनउत्तरदायी बन्न चेतावनी दिँदै भने,हामीले संविधानमा समाजवाद उन्मुख राज्य व्यवस्था लेखेका छौं। तर त्यो कागजमा मात्रै सीमित हुने कि व्यवहारमा कार्यान्वयन गर्ने त्याे ठूलाे प्रश्न बनेकाे छ।  

उनले समाजवादी मोडेल कार्यान्वयन गर्नका लागि आम जनताले पनि जागरूक हुनुपर्नेमा जोड दिए। यो विषय केवल नेतृत्वले गर्ने निर्णय मात्र होइन। जनताले पनि यो बहसलाई अगाडि बढाउनुपर्छ, समाजवादी गणतन्त्रको पक्षमा जनमत निर्माण गर्दै अगाडि बढ्ने बेला भएकाे बताए।

 नेता गजुरेलले अबको नेपाल समाजवादी गणतन्त्रतर्फ जानुको विकल्प नरहेको स्पष्ट पारे। उनका अनुसार, संसदीय प्रणाली असफल भइसकेको छ,पूँजीवादी नीतिहरूले जनतालाई झन् शोषण मात्र गरिरहेका छन्, र मुलुक विदेशी निर्भरता तथा आर्थिक असमानताले ग्रस्त हुँदै गएकाे छ।

अबको बाटो समाजवादी गणतन्त्र नै हो। यो बहस अब रोक्न मिल्दैन।यदि नेपाललाई साँच्चै स्वाधीन र समुन्नत बनाउने हो भने समाजवादी गणतन्त्रको पक्षमा दृढ अडान लिनु अबको अपरिहार्यता बनेकाे नेता गजुरेलले बताए।  

त्यस्तै राजावादी प्रवृत्तिको उदय हुनुमा संसदीय नेताहरूको अवसरवादी प्रवृत्ति प्रमुख कारण रहेकाे बताए। उनले नेताहरूले जनताको अपेक्षा अनुसार शासन गर्न नसक्दा राजसंस्थाको पक्षमा रहेका समूहहरूलाई सक्रिय हुने मौका मिलेको बताए।

नेताहरू आफैं भ्रष्टाचारमा लिप्त भए, जनताका आवश्यकतालाई उपेक्षा गरे। शासन प्रणालीलाई पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाउनुपर्नेमा उल्टै पार्टी स्वार्थमा अल्झिए। जब व्यवस्था चलाउनेहरूले जनताको मन जित्न सक्दैनन्, त्यही बेलामा पुरानै व्यवस्था फर्काउने कुरा उठ्छ,गजुरेलले भने।

 निर्वाचनमा जनमत पाएको सरकारले स्थिर शासन दिनुपर्ने हो, तर यहाँ सत्ताका लागि निरन्तर चलखेल हुँदैआएको छ। सरकार टिक्दैन, नीति टुंगिदैन, विकासले गति लिँदैन। यस्तो अवस्थामा निराश बनेका जनतालाई भ्रमित पार्न राजावादीहरूलाई अवसर मिल्छ उनले भने। 

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किन नसक्ने दाबी गरे। हिजो राजतन्त्रले जनतालाई के दियो ? अन्याय, दमन र शोषण मात्रै। जनता त्यो विगत बिर्सनेवाला छैनन्। कोही व्यक्तिले सडकमा उभिएर राजसंस्थाको पक्षमा नारा लगाए भन्दैमा नेपालमा फेरि राजतन्त्र फर्किन्न,उनले भने।

उनले राजनीतिक स्थायित्व कायम गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सके राजावादीहरूको प्रभाव स्वतः समाप्त हुने बताए। हामीले यदि जनमुखी शासन व्यवस्था लागू गर्न सक्यौं भने, भ्रष्टाचार र असमानता हटाउन सक्यौं भने कोही पनि राजसंस्थाको पक्षमा उभिनेवाला छैन उनले भने।

 वामपन्थी शक्तिहरूलाई पनि सशक्त रूपमा अगाडि आउनुपर्नेमा जोड दिए। अबको बाटो समाजवादी गणतन्त्रतर्फ जानुपर्ने हो, तर संसदीय दलका नेताहरूको कमजोरीले यो नै संकटमा पर्न थालेको छ। हामीले व्यवस्था जोगाउन मात्र होइन, जनताको हितमा प्रभावकारी रूपमा काम गर्ने अवस्था सिर्जना गर्नुपर्छ,उनले बताए।

 उनले अबका दिनमा संसदीय व्यवस्थालाई जनमुखी बनाउँदै गणतन्त्रलाई सुदृढ पार्नुपर्ने आवश्यकता औंल्याए।जनताको बलिदानबाट आएको परिवर्तनलाई कसैले मेट्न सक्दैन। तर, यदि नेताहरू सचेत भएनन् भने इतिहासले उनीहरूलाई क्षमा गर्ने छैन,उनले भने।